ई–आर्थिक, काठमाडौं । २०७८ सालमा आएको बाढीले तहसनसहन बनेको मेलम्ची खानेपानीको बाँध क्षेत्र सार्न सुझाव दिँदै दातृ निकाय एसियाली विकास बैंकले प्रतिवेदन बुझाएको छ।
मेलम्चीको दातृ निकाय एसियाली विकास बैंकले तीन साताअघि बुझाएको विस्तृत प्रतिवेदनमा मुख्य बाँध क्षेत्र (हेडवर्क्स) सार्न प्रस्ताव गरिएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।
अम्बाथानभन्दा केही माथि रहेको अहिलेको बाँध क्षेत्र पहिराको उच्च जोखिममा छ। दुई वर्षअघिको बाढीले सम्पूर्ण संरचना पुरेको छ नै, त्यसमाथि दोरिङको भीर नै खस्ने सम्भावना देखिएको भन्दै एसियाली विकास बैंकले नै बाँध क्षेत्र सार्न भनेको हो। यसअघि प्रारम्भिक प्रतिवेदनमा पनि अम्बाथान क्षेत्रबाट बाँध सार्नुपर्ने बताइएको थियो।
‘अम्बाथानमा रहेको अहिलेको बाँध क्षेत्र सारेर सर्कथलीमा प्रस्ताव गरिएको छ। अहिले आयोजनाले प्रतिवेदन अध्ययन गरिरहेको छ। यसपछि मन्त्रालयले अध्ययन गरेर निर्णय गर्नुपर्ने हुन्छ,’ पन्तले भने।
एसियाली विकास बैंकले अहिले हेडवर्क्स रहेको स्थानबाट ७ सय मिटर माथि सार्न प्रस्ताव गरेको छ। ७ सय मिटर माथि हेडवर्क्स सार्दा सुरूङ र पहुँच मार्गसमेत विस्तार गर्नुपर्ने पन्तले बताए।
अम्बाथानदेखि काठमाडौंको सुन्दरीजलसम्म २६.९ किलोमिटर लामो सुरूङ निर्माण गरिएको छ। त्यसका लागि झन्डै ३२ अर्ब रूपैयाँ खर्च भएको छ। त्यसमा एसियाली विकास बैंकको २० अर्बभन्दा बढी लागत रहेको छ भने नेपाल सरकारको १२ अर्ब रूपैयाँ खर्च भएको छ।
यता काठमाडौं उपत्यकामा पानी वितरणका लागि पाइप सञ्जाल विस्तार गर्नका लागि ३२ अर्ब बढी नै रूपैयाँ खर्च भइसकेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनलायले यो काम गरिरहेको छ।
सर्कथली क्षेत्रमा बाँध सार्दा ४ अर्बभन्दा बढी लागत थपिने उनले बताए। अम्बाथान क्षेत्रमा हेडवर्क्स बनाउन मात्रै १ अर्बभन्दा बढी खर्च भएको पन्तले बताए।
‘हेडवर्क्ससम्म पुग्ने पहुँच मार्ग, सर्कथलीदेखि अम्बाथानसम्म सुरूङ, हेडवर्क्सको सर्भे, डिजाइन, निर्माण सुपरिवेक्षण आदिका हिसाबले बाँध सार्न ३ देखि ४ अर्ब लागत थपिने अनुमान गर्न सकिन्छ,’ उनले भने।
२० करोडभन्दा बढी लागत खर्चिएर दुई हिउँद काठमाडौंमा अस्थायी तवरले पानी ल्याइएको थियो। यस वर्ष गेग्रान नछिरोस् भनेर १ नम्बर र ९ नम्बर गेटमा हाइड्रोलिक उपकरणसमेत राखिएको थियो।
साउन २८ र २९ गते आएको बाढीले ती संरचना पुरेको छ। यसवर्ष सुरूङभित्र गेग्रान पसेको अनुमान गरिएको छ।