२०८३ साउन १८ सोमबार

निगमको संरचनात्मक एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले बुुझायो प्रतिबेदन, सोल्टी होटलको सेयर बेचेर नयाँ जहाज किन्न सुझाव

ई आर्थिक    सोमबार, असोज १५ २०८०
5.4K
Shares
निगमको संरचनात्मक एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले बुुझायो प्रतिबेदन, सोल्टी होटलको सेयर बेचेर नयाँ जहाज किन्न सुझाव

ई–आर्थिक, काठमाडौं । नेपाल वायुसेवा निगमको संरचनात्मक एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले सोल्टी होटल लिमिटेडमा रहेको सेयर बेचेर नयाँ जहाज खरिद गर्न सुझाव दिएको छ ।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको पाँच सदस्यीय समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई आफ्नो प्रतिवेदन बुझाउँदै उक्त सुझाव दिएको हो ।

पर्यटनमन्त्री सुदन किरातीले २०७९ चैत २४ मा निगम सुधार समिति गठन गर्नुभएको थियो । उक्त समितिले पाँचतारे होटल सोल्टीमा निगमको एक करोड तीन लाख ३३ हजार ६९९ कित्ता सेयर रहेको जनाएको छ ।

भदौ १९ सम्म यो कम्पनीको सेयरको मूल्य प्रतिकित्ता ४४३ रुपियाँ रहेको र उक्त सेयर बेच्दा चार अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ रुपियाँ पुग्ने देखिएकाले निगमलाई सो रकमबाट नयाँ जहाज खरिद गर्न समितिले सिफारिस गरेको हो ।

वाइडबडी र न्यारोबडी जहाज किन्न ऋण दिएको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ऋण चुक्ता नगरी थप ऋण नदिने सर्त अघि सारेपछि समितिले सोल्टीको सेयर बेचेर लगानी जुटाउन विकल्प सुझाएको हो । समितिले निगममा रणनीतिक साझेदार भित्र्याएर कम्पनी मोडलमा सञ्चालन गर्नसमेत सुझाव दिएको छ ।

त्यस्तै निगमलाई होल्डिङ कम्पनीमा परिणत गरी अधिक सेयर सरकार र सरकारका संस्थामा रहने गरी छुट्टाछुट्टै संस्था बनाउनसमेत समितिले सुझाव दिएको छ । समितिले निगमको प्रमुख कार्यकारी नियुक्ति खुला प्रतिस्पर्धाबाट गराउनसमेत सुझाव दिएको छ । संस्थाको व्यापार विस्तार तथा नगद प्रवाहमा थप सुधार ल्याउन अन्तर्राष्ट्रिय गन्तव्य विस्तारमा लागेको निगमले आन्तरिक उडानमार्फत समेत आम्दानी बढाउन नयाँ जहाज खरिदको प्रक्रिया अघि बढाएको छ।

निगमले अगाडि सारेको १० वर्षे योजनामा पनि सन् २०२५ सम्म १५ वटा जहाज खरिद गर्ने योजना रहेको उल्लेख छ । सो योजना अनुसार २०२३ मा अन्तर्राष्ट्रियतर्फ दुई वटा न्यारोबडी, सन् २०२४ मा एउटा वाइडबडी र दुईवटा न्यारोबडी तथा २०२५ मा एउटा वाइडबडी थप्नेबारे उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij