२०८३ साउन १२ मंगलबार

भन्सारको कडाइलाई निरन्तरता दिन बुटवल उद्योग वाणिज्य सङ्घको माग

ई आर्थिक    बुधबार, साउन १० २०८०
7K
Shares
भन्सारको कडाइलाई निरन्तरता दिन बुटवल उद्योग वाणिज्य सङ्घको माग

ई–आर्थिक, बुटवल । बुटवल उद्योग वाणिज्य सङ्घले सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्ताबाट सय रुपियाँभन्दा बढीको सामानमा राजस्व लिने नीतिलाई निरन्तरता दिन आग्रह गरेको छ ।

सङ्घलगायत यस क्षेत्रका व्यावसायिक सङ्घ संस्थाको पहलमा हालैदेखि भन्सारमा कडाइ गरिएको थियो । सीमानाकामा कडाइ गरेपछि सीमावर्ती नेपाली बजारमा चहलपहल हुन थालेको र सरकारको राजस्व असुलीमा पनि प्रगति भएको भन्दै सङ्घले सीमानाका कडाइलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेको हो ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विगतदेखि गरिएको पहल तथा पैरवीका कारण भन्सार बिन्दुमा खुद्रा उपभोग्य वस्तुमा समेत भन्सार महसुल लिने कार्यको थालनी भएपश्चात् स्थानीय बजारमा सकारात्मक असर देखिन थालेको बताउनुभयो ।

व्यवसायीका अनुसार भन्सारमा कडाइ गर्न सुरु भएपछि बुटवल बजारमा कपडाको व्यापारमा ३५ प्रतिशत तथा कस्मेटिक तथा मोटर पाटर्समा १० प्रतिशतले व्यापार वृद्धि भएको उहाँले बताउनुभयो ।

कतिपय सीमा क्षेत्रका व्यक्तिले भन्सार नाका खुकुलो बनाउनुपर्ने धारणा आएपछि सङ्घले सरकारलाई दबाब दिन पत्रकार सम्मेलन गरी संस्थागत धारणा प्रस्ट पारेको हो ।

नेपालको कुल व्यापारको करिब दुई तिहाइ भारतबाट आयात हुने र खुला सीमाका कारण कुल गार्हस्थ उत्पादनको एक तिहाइ बराबरको चोरी निकासी हुने गरेको अनुमान गरिएको बताउँदै सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले सरकारले आफ्नो मुख्य स्रोतको वृद्धि सुनिश्चित गर्न तथा स्थानीय उत्पादन र व्यवसायीलाई बलियो बनाउनका लागि पनि भन्सारमा कडाइ गर्ने नीतिलाई निरन्तरता दिनुपर्ने भनाइ राख्नुभयो ।

त्यसै गरी सङ्घका पूर्वअध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठले देशको अर्थतन्त्र दरिलो पार्न भन्सार तथा खुला सीमा नियमन थप कडाइ गर्दै जानुपर्ने बताउनुभयो ।

उहाँले नेपालको कुल गार्हस्थ उत्पादनको ९० प्रतिशत र कुल रोजगारीको ८० प्रतिशत हिस्साको योगदान रहेको निजी क्षेत्रप्रति बेवास्ता गरिएमा मुलुकको अर्थव्यवस्थामा दीर्घकालीन असर पर्ने भन्दै सरकार कुनै पनि हालतमा पछि हट्न नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij