काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा आवेदन दिएका लगानीकर्ताको ९ अर्ब ८३ करोड ८५ लाख ५५ हजार ९५० रुपैयाँ बन्धक बनेको छ । नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले असार ४ गते कम्पनीको आईपीओ निष्कासन प्रक्रिया स्थगित गरिदिएपछि लगानीकर्ताको उक्त रकम बन्धक बनेको हो।
बोर्डले कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्दा नक्कली आवेदन परेको प्रमाणका आधारमा छानबिन अघि बढाएको छ । बोर्डले लगानीकर्ताको खातामै रकम रोक्का रहने गरी घोराहीको आईपीओ सम्बन्धमा छानबिन गरिरहेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले दिएको जानकारीअनुसार कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रोक्का गर्दासम्म ५ लाख ६२ हजार ४३ आवेदकबाट २ करोड २६ लाख १७ हजार ३७० कित्ता शेयर माग भएको छ । आफ्नो खातामा रकम नहुँदा नहुँदै लाखौं कित्ताका लागि आवेदन दिने १२ जनाको आवेदन भने रद्द गरिएको छ । धितोपत्र बजारको इतिहासमै सार्वजनिक निष्कासनका क्रममा यति धेरै कित्ताको आवेदन अस्वीकृत भएको घटना यो पहिलो भएको सिडिएस एन्ड क्लियरिङ लिमिटेडको भनाइ छ ।
कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणमा प्रिमियमसहित प्रतिकित्ता ४३५ रुपैयाँ मूल्यमा ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ विक्री खुला गरेको थियो । आईपीओ विक्री अवधि असार ४ गतेभित्रै मागभन्दा ३ गुणा बढी आवेदन परिसकेको अवस्थामा कम्पनीले विक्री अवधि थप गरी असार १४ गतेसम्म कायम गरेको थियो । यसैबीच बोर्डले छानबिन गर्दा नक्कली आवेदन परेको तथ्य पत्ता लागेको थियो ।
लामो समय रकम बन्धक हुँदा धितोपत्रको दोस्रो बजारसमेत प्रभावित हुने लगानीकर्ताको भनाइ छ । आम लगानीकर्ताको लगानी सुरक्षित हुने गरी जतिसक्दो छिटो यो विषय टुंग्याउने तयारीमा बोर्ड छ । छानबिन समितिमार्फत काम भइरहेकाले समितिको प्रतिवेदनका आधारमा चाँडै निर्णय गर्ने बोर्डले जानकारी दिएको छ । सार्वजनिक निष्कासनका क्रममा लगानीकर्ताको विश्वास गुम्ने गरी बदमासी भएको यो घटनाले अन्य कम्पनीको धितोपत्र निष्कासनमा असर नपर्ने गरी छानबिन भइरहेको बोर्डको भनाइ छ ।
यता लगानीकर्ताले भने लामो समय शेयर खरीदबापतको रकम बन्धक भएको भन्दै फुकुवा गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले छानबिन प्रक्रियालाई जतिसक्दो चाँडो टुंग्याएर लगानीकर्ताको अर्बौं रकम फुकुवा गर्न आग्रह गरे । बोर्डले प्रक्रिया लम्बिने अवस्था आए बन्धक रकम फुकुवा गरी कारबाही अघि बढाउनुपर्नेमा फुल्लेलले जोड दिएका छन् । लगानीकर्ताको रकम बन्धक हुँदा धितोपत्रको दोस्रो बजारसमेत प्रभावित हुने भएकाले बोर्डले त्यसतर्फ ध्यान दिनुपर्ने फुल्लेलको माग छ ।
अग्रज लगानीकर्ता डम्बरुवल्लभ घिमिरेले आफ्नो परिवारभित्र मात्र घोराहीको आईपीओका लागि ४० हजार रुपैयाँभन्दा बढी बन्धक भएको गुनासो गरे । आफूजस्ता लाखौं लगानीकर्ताको रकम बन्धक हुँदा पछिल्लो समय सार्वजनिक निष्कासनमा आएका धितोपत्र खरीदमा समेत प्रभाव पर्ने घिमिरेको भनाइ छ । उनले पनि आम लगानीकर्ताले विश्वास गरेका बोर्ड अध्यक्ष हमालसमक्ष विश्वास कायम रहने गरी घोराही सिमेन्टको आईपीओको विषय टुंग्याउन अनुरोध गरेको समाचार आर्थिक अभियानले लेखेको छ ।