अपुष्ट भ्रष्टाचार र राजिनामाको ‘हौवा’ फैल्याइदै, नयाँ महाप्रबन्धक नियुक्ती गर्ने ‘प्रपञ्च’ रचिदै
ई–आर्थिक, काठमाडौं । मुलुककै सबैभन्दा बढी संभावना भएको उदयपुर सिमेण्ट उद्योग लिमिटेडलाई बन्द गराउन यतिवेला विभिन्न ‘हत्कण्डा’हरु अपनाउन थालिएको छ । उद्योगका जिम्मेवार पात्रहरुले शुसासनयुक्त ढंगले चुस्त दुरुस्तरुपमा काम गरिरहेको समयमै यतिवेला ‘प्रवृत्ती’ हरू सक्रिय हुन थालेको छन् । जसमा कर्मचारी संगठन, केही सञ्चालकका साथै मन्त्री समेत सक्रिय हुन थालेको बताइन्छ ।
कर्मचारी संगठनका केही अगुवाहरु महाप्रबन्धकलाई ‘अपुष्ट भ्रष्टाचार’को आरोप लगाएर राजिनामा माग्न थालेका छन् भने सञ्चालकहरु महाप्रबन्धकको कार्यमा ‘अनावश्यक हस्तक्षेप’ गरेर कामको निरन्तरतामा अवरोध गर्न थालेका छन् । त्यसैगरी सरकार र विभागीय मन्त्री केही बहाना नपाएर ‘अब उद्योग अगाडी बढ्न नसक्ने’ भन्दै थप सञ्चालन पूँजीको व्यवस्थापन नगर्ने अवस्थामा पुगेको छ । यी सबै प्रबृत्तीको एउटै र मुल उद्देश्य हालका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई हटाउने र नयाँ महाप्रबन्धक नियक्ती गर्ने खेल भएको उदयपुर सिमेन्टका एक जिम्मेवार व्यक्तिले दाबी गरेका छन् ।
मन्त्री, सञ्चालकहरुले उच्चारण समेत गर्न नसकेको महाप्रबन्धक न्यौपानेको भ्रष्टाचारको कुरा कर्मचारी संगठनहरुका केही अगुवाहरुले उठाएका छन् । उद्योगको हित नचाहने केही स्वार्थी तत्वहरु त महाप्रबन्धक न्यौपानेले राजीनामा दिएको हौवा समेत फैल्याउन भ्याएका छन् । तर महाप्रबन्धकको राजीनामा नआएको र कर्मचारी संगठनका केही व्यक्तिहरुले उठाएको ‘अपुष्ट भ्रष्टाचार’को विषयलाई उद्योगले पुष्टि गर्न चुनौति दिएको विज्ञप्ती प्रकाशित गर्दै समेत ती कर्मचारीहरु मौन छन् । उद्योगको विषयमा विभिन्न खेल चलखेलका कुराहरु बाहिर बजारमा आउन थालेपछि उद्योगले यथार्थ विषयमा प्रष्ट पार्न विज्ञप्ती नै प्रकाशित गरेको थियो ।
उद्योगको विगतको र अहिलेको अवस्था, तथ्य र तथ्यांक हेर्ने हो भने ती स्वार्थी तत्वहरुको बोल्ती बन्द हुन्छ । तर पनि बाहिरीरुपमा कहिले अपुष्ट भष्ट्राचार, कहिले नदिएको राजीनामाको हल्ला फिजाएर महाप्रबन्धक न्यौपानेलाई हतोत्साहित पार्ने काम भइरहेको छ ।
तर उद्योगलाई कायपलटको दिशातिर अगाडी बढाउँदै गरेका महाप्रबन्धक न्यौपाने पनि कम क्षमताका भने छैनन् । उद्योग चलाउने मात्रै हैन विद्यावारिधीको अध्ययन गरिरहेका उनी आर्थिक क्षेत्रको राम्ररी विश्लेषण गर्न सक्ने क्षमता राख्छन् । ‘क’ बर्गको बैंकको सञ्चालक, कानुन व्यवसायी, लेखा परिक्षक समेत रहेका उनीसँग उद्योग बाणिज्य क्षेत्र कसरी चल्नुपर्छ र चलाउनु पर्छ भन्ने विषयमा धेरै लामो अनुभव रहेको छ । ‘नविराउनु, नडराउनु’ मुल मन्त्रलाई बोकेर हिडेका उनले विभागिय मन्त्री समेतलाई उद्योगको शुसासन, अनुशासन र पारदर्शीताको विषयमा ठाडौं चुनौती दिंदासमेत कुनै ‘एक्सन’ लिन सकिएको छैन् । उद्योगमा उनले देखाएको ‘परफरमेन्स’ कै कारण मन्त्रीले महाप्रबन्धक न्यौपानेलाई औला उठाउन नसकेको उद्योगका जानकार बताउँछन् ।
केही समय अघि उद्योग अवलोकन र साधारणसभामा सहभागी हुँदा उद्योग बाणिज्य मन्त्री रमेश रिजालले राष्ट्रिय महत्वको यो उद्योगलाई राम्रोसँग चल्नेगरी बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । त्यस्तै उद्योगमा सरकारले थप लगानी गरी पब्लिक पार्टनरशिपमा लैजान मन्त्रालयले एक कार्यदल गठन गरेको र सो कार्यदलको प्रतिवेदनको आधारमा लगानीको स्वरुप प्रष्ट हुने बताएका थिए । उद्योगलाई राम्रो बनाउन सबै ‘टुल्स’ प्रयोग गर्ने बताएका मन्त्री रिजालको अहिले बोली र बचन फेरिएको अनुभव गर्न थालिएको छ ।
महाप्रबन्धक न्यौपानेलाई चौतर्फी ‘घेराबन्दी’ गर्न खोजिएपनि उद्योग बच्नुपर्छ र बचाउनु पर्छ, उद्योगमा भएको संभावनाको लाभ नेपाल सरकारले लिनुपर्छ भन्ने अदम्य साहसका बीच उनले उद्योगको जीर्ण भएका केही मेशिनरी र सञ्चालन पूँजीका लागि तत्काल ३० करोड जुटाइदिन आग्रह गरिरहेका छन् । ‘सरकारको लागि ३० करोड ठूलो रकम थिएन्’ महाप्रबन्धक न्यौपाने भन्छन्– ‘चलिरहेको संभावनायुक्त उद्योगलाई सरकारले बजेट प्राथमिकता राख्दैन तर बन्द केही उद्योगहरुलाई भने बजेट छुट्याइदै लज्जास्पद र हाँस्यास्पद निर्णय गरिरहेको छ ।’ यो विषयमा सरकारलाई उनको ठाडो कटाक्ष रहेको छ । उद्योगलाई पूर्ण क्षमतामा चलाएर नाफामा लैजान उनले पूँजी जुटाउन आइपीओ अवधारणा देखि कर्जा लिने सम्मका विभिन्न स्किमका अवधारणा ल्याएका छन् । अहिले उद्योगले कर्जा लिने विषयमा समेत केही निकायमा प्रबत्तिले काम गर्दैै तगारो हालिरहेको महाप्रबन्धक न्यौपानेले प्रष्ट पारे ।
जसले जे बहाना बनाए पनि यी सब प्रबृत्तीको एउटै ‘मिसन’ महाप्रबन्धक न्यौपानेलाई हटाएर नयाँ महाप्रबन्धकलाई ल्याउने उद्योग स्रोतले बताउछ । भित्रीरुपमा नयाँ महाप्रबन्धक समेत तयार भइसकेको स्रोतले दाबी गरेको छ । कारण आर्थिक अनियमिततामा महाप्रबन्धकले अवसर नदिनु र विपरित बैचारीक पार्टी नै मूख्य भएको स्रोतको दाबी छ । लोकसेवा आयोगको प्रक्रियासमेत पुरा गरी प्रयोगात्मक परिक्षाबाट पहिलो नम्बरमा नाम निकालेर चयन भएका न्यौपाने के.पी. ओली नेतृत्वको सरकार भएका बेला नियुक्ती भएका थिए । उनी केही मात्रमा एमाले निकट भएपनि उनले उद्योगमा राजनीतिक रंग दिएनन् । बरु उल्टै उद्योगमा राजनीतिक गर्न प्रतिबन्दै लगाए । उद्योगमा महाप्रबन्धक न्यौपानेको सुधारात्मक धेरै कार्यकै कारण विपरित पार्टीका भएपनि एक बर्षे अवधि थपिदियो । तर न्यौपाने अहिले उद्योगमा अनियमितता र शुसासनका सवालमा थप कडा हुँदै जानु र काँग्रेसबृतबाट नयाँ महाप्रबन्धक नियुक्तीको दबाब आएपछि महाप्रबन्धक न्यौपानेलाई कामबाट बञ्चित गराउन खोजिएको उद्योग स्रोत बताउँछ ।
अर्बौं नोक्सानीमा रहेको, झाडीमय र जीर्ण अवस्थामा पुगिसकेको यो राष्ट्रिय महत्वको उद्योगले करोडौं नाफा कमाउने अवस्थामा ल्याइपु¥याएका महाप्रबन्धकका विरोधमा उद्योगका सञ्चालकहरुले औला ठड्याउने कुनै बहाना पाएका छैनन् । उद्योगमा शुसासनको सवालमा थुप्रै काम गरेर उद्योगलाई नयाँ जीवन र गति दिने कार्य गरेका महाप्रबन्धक न्यौपानेको विरोध गर्ने सञ्चालकसँग भन्नुपर्दा कुनै ‘आँट’ पनि छैन । १४ बर्षदेखिको रोकिएका साधारणसभा देखि उद्योगलाई नाफामा सञ्चालन गराउने क्षमताको समेत बनाए । उद्योगले खर्च मितव्ययिता गरी यस आ.व.मा ४ करोड ९२ लाख नाफा गर्न सफल भएको छ ।
उद्योगमा महाप्रबन्धक न्यौपाने आएपछि सुधारका धेरै प्रयासहरू भएका छन् । विशेषगरी उत्पादनको गुणस्तर, विक्री वितरणको सही व्यवस्थापन, कर्मचारीको हितमा उचित सम्बोधन तथा व्यवस्थापन, उद्योगको दायित्व घटाउने, संस्थागत सुशासन तथा आर्थिक अनुसाशन कायम गर्ने जस्ता विषयहरूमा महाप्रबन्धक न्यौपानेले योजनाबद्ध ढंगले लागि परेको जनाएका छन् ।
उद्योगको समग्र अवस्थालाई गति दिने गरी उनले सुरू गरेको धेरै प्रयासले परिणाम समेत राम्रै दिइरहेको थियो । फलस्वरुप उद्योगले सिमेन्ट उत्पादन र विक्रीमा समेत नयाँ–नयाँ रेकर्ड राख्न सफल भएको थियो ।
व्यवस्थापकीय नेतृत्वले चुस्त, दुरुस्तका साथै योजना र रणनीतिक ढंगबाट उद्योग अगाडी बढाउने प्रयास गर्दा हरेक उपलब्धिहरू हात पार्न सकिदो रहेछ भन्ने न्यौपाने यो उद्योगमा उदाहरण बनिरहेका छन् । उनको कार्यकालमा उद्योगमा एक पछि अर्को त्यस्ता धेरै उल्लेखनिय कार्य भइरहेको जानकारहरु बताउँछन् ।
उद्योग सञ्चालक समितिका अध्यक्ष, सञ्चालकहरू तथा सम्पूर्ण कामदार कर्मचारीहरुको सहयोगले नै आफ्नो योजना, रणनीति र प्रयासहरूले सफलता हात पारिरहेको महाप्रबन्धक न्यौपानेले बताए ।
उद्योगमा भएका यिनै सुधारात्मक कार्यले गर्दा उनको चौतर्फी प्रशंसाका साथै कार्यकाल समेत थपिएको छ । महाप्रबन्धक न्यौपानेको अहिले दोस्रो कार्यकाल चलिरहेको छ ।
यसरी काम गर्ने महाप्रबन्धकको विरुद्धमा विभिन्न ‘खेल चलखेल’ बढ्न थालेपछि उदयपुरका स्थानीयहरु समेत रुष्ट बनेका छन् । उद्योग बचाउन अहिले सरोकार समिति समेत गठन गरी उद्योगमा गरिने यस्ता हथ्कण्डाको प्रतिबाद गर्ने तयारी गरेका छन् । ‘पटक–पटक मर्दै बाँच्दै गरेको यो उद्योग बन्द गराउने हत्कण्डा अब हामीलाई सह्य हुदैन ।’ स्थानीय बीर बहादुर कार्की भन्छन्– ‘अब हामी पनि त्यसको खबरदारी गर्छौं ।’
‘गति लिइरहेको उद्योगलाई बन्द गराउन राजनीतिक आडमा विभिन्न खेल र चलखेलको कुराहरु मैले पनि सुनेको छु ।’ स्थानीय राजन राउतले पनि आक्रोसपूर्ण शैलीमा भने– ‘उद्योगमा हुने खेल चलखेल र कुनै पनि बहानाबाजीमा उद्योग धरासायी बनाउन दिंदैनौं ।’