ई–आर्थिक, काठमाडौं । सर्वसाधारणले घोराही सिमेन्टको प्राथमिक सेयर (आईपीओ) बिहीबारदेखि भर्न पाउने छन् । निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङले आह्वान पत्र सार्वजनिक गर्दै असार ४ सम्म भर्न पाउने जानकारी दिएका हुन् ।
वैदेशिक रोजगारमा रहेका, स्थानीय प्रभावित, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइसकेपछि बाँकी ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गर्न लागिएको हो । बिक्री प्रबन्धकका अनुसार अंकित मूल्य १ सयमा ३ सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४ सय ३५ रुपैयाँका दरले सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० कित्ता र अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । केयर रेटिङले कम्पनीको आईपीओलाई ‘बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने सुरक्षा क्षमताको मध्यम आधार रहेको जनाउँदछ । दाङको घोराही–४ मा रहेको उद्योगले क्लिंकरका साथै सिमेन्ट पनि उत्पादन गर्दछ ।
हाल दुई वटा ‘प्लान्ट’ बाट सिमेन्ट उत्पादन भइरहेको घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडका अध्यक्ष पुरुषोत्तमलाल संघईले जानकारी दिए । घोराही सिमेन्ट कम्पनीमा अधिकतम सेयर लगानी त्रिवेणी ग्रुप र विशाल ग्रुपको छ ।
आईपीओमार्फत सर्वसाधारणबाट संकलन गरेको पैसा बैंकको ऋण तिर्न प्रयोग गर्ने संघईले बताए । ‘बैंकको कर्जा भुक्तानी भएपछि कम्पनीमा ऋण र ब्याजको भार कम हुन्छ, त्यसपछि कम्पनीले कमाएको सबै आम्दानी सेयरधनीलाई वितरण गर्छौं,’ उनले भने, ‘हामीसँग सञ्चित कोषमा ४ अर्ब रुपैयाँ छ ।’
कस्तो छ कम्पनीको अवस्था ?
केयर रेटिङले कम्पनीको आईपीओलाई बीबीबी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने सुरक्षा क्षमताको मध्यम आधार रहेको जनाउँदछ । दाङको घोराही उपमहानगर ४ मा रहेको उद्योगले क्लिङ्करका साथै सिमेन्ट पनि उत्पादन गर्दछ ।आहृवानपत्रमा दिइएको जानकारीअनुसार कम्पनीले वार्षिक ३ लाख ५३ हजार टन क्लिङ्कर उत्पादन गर्ने क्षमता राख्दछ । त्यस्तै २ लाख ४० हजार टन ओपीसी, ३ लाख ३० हजार टन पीपीसी सिमेन्ट उत्पादनको क्षमता छ ।
२०७८ मंसिरदेखि उद्योगले व्यवसायिक रुपमा सिमेन्टको बिक्री गर्न थालेको हो । गत मंसिर मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ १० पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ५० पैसा छ । सो अवधिसम्म ४ अर्ब रुपैयाँ जगेडा कोष छ । साधारण लगानी फिर्ता हुने अवधि ४ वर्ष ८ महिना छ भने डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि ८ वर्ष ५ महिना छ । सेयर बजारमा हाल सिमेन्ट उद्योगमा शिवम् मात्रै सूचीकृत छ । शिवम्ले पनि सर्वसाधारणका लागि प्रिमियम थपेर प्रतिकित्ता ४ सयका दरले प्राथमिक सेयर निस्कासन गरेको थियो ।