२०८३ साउन १६ शनिबार

पाँचखाल औद्योगिक ग्रामः ‘महिला उद्योग ग्राम’मा रूपान्तरण

ई आर्थिक    बुधबार, जेष्ठ १७ २०८०
6.7K
Shares
पाँचखाल औद्योगिक ग्रामः ‘महिला उद्योग ग्राम’मा रूपान्तरण

काभ्रे । काभ्रेपलाञ्चोकको कृषि नगर पाँचखाल नगरमा निर्माण हुने मुलुककै पहिलो महिला उद्यमी तथा हरित औद्योगिक ग्रामलाई ‘महिला उद्योग ग्राम’मा रुपान्तरण गरिएको छ । सोमबार संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेट वक्तव्यमा निर्माणको प्रक्रियामा रहेको उक्त ग्रामलाई महिला उद्योग ग्राम नामकरण गर्ने घोषणा गरिएको हो।

उक्त ग्रामको हालैमात्र विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिएको छ । बजेट वक्तव्यमा ग्रामका लागि आवश्यक बजेट विनियोजन गरिनेसमेत जनाइएको छ । नगरको ७ नं वडास्थित करिब पाँच हेक्टर (९८ रोपनी) जमिनमा भौतिक पूर्वाधार निर्माणका लागि जमिन सम्याउने काम सम्पन्न भइसकेको छ । ग्राम स्थापनाका लागि पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासङ्घ नेपालबीच २०७६ भदौमा त्रिपक्षीय सम्झौता भई प्रक्रिया अघि बढाइएको थियो । प्रारम्भिक चरणमा ग्रामका लागि सडक स्तरोन्नति, खानेपानी ट्याङ्की निर्माण तथा डिपिआर तयार गर्न ६० लाख रूपैयाँ विनियोजन गरिएको थियो।

बागमती प्रदेशका सङ्घीय अनुदानप्राप्त स्थानीय तहमा औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत चार जिल्लाका छ स्थानीय तहमा आर्थिक वर्ष २०७६/७७ मा सरकारले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो । त्यसअनुसार काभ्रेपलाञ्चोकमा तीन तथा मकवानपुर, चितवन र दोलखामा एक–एकवटा औद्योगिक ग्राम स्थापना गर्ने गरी सरकारले सडक स्तरोन्नति, कम्पाउन्ड, डीपीआर तयार, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए), खानेपानीलगायतको व्यवस्था गर्न थप ९२ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो।

सम्झौताअनुसार पाँचखाल नगरले वडा नं ७ (साविक होक्से गाविस)मा ग्राम स्थापना र विकासका लागि सोही वडाको कित्ता नं ८९, ९० र ११३ को करिब पाँच हेक्टर जग्गा २५ वर्षका लागि उपलब्ध गराएको हो । नगरप्रमुख महेश खरेल, दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजाल र महिला उद्यमी महासङ्घ नेपालका अध्यक्ष शारदा रिजालबीच ग्राम स्थापनार्थ त्रिपक्षीय सम्झौता भएको हो । खरेलका अनुसार ग्रामका लागि डिपिआर तयार भइसकेको, जमिन सम्याउने तथा पहुँचमार्ग निर्माणको काम सम्पन्न भइसकेको छ।

नेपालमै पहिलोपटक पाँचखालमा स्थापना हुन लागेको उक्त ग्रामलाई महिला तथा कृषि क्षेत्रलाई केन्द्रित गरी सञ्चालन गरिने छ । “स्थानीय उत्पादन र कच्चा पदार्थको प्रयोगमा जोड दिइने उक्त योजनाले महिला उद्यमशीलता विकास र आर्थिक सशक्तीकरणका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, खरेलले भने। सम्झौतामा औद्योगिक ग्राम स्थापनाका लागि नगरले आवश्यक सहजीकरण गरिदिने, आवश्यकतानुसार यसको विकास, सञ्चालन र व्यवस्थापनमा सहयोग गर्ने र ग्राम क्षेत्रभित्रको जग्गामा उद्योग स्थापनार्थ सहयोग गर्ने उल्लेख छ।

यस्तै औद्योगिक ग्रामका कारण आसपासको वातावरण, मानव जीवन तथा भौतिक विकास र निर्माण कार्यमा असर पर्न दिइने छैन भने औद्योगिक ग्राममा सिर्जना हुने रोजगारीका अवसरमा स्थानीयलाई प्राथमिकता दिइने छ । धुलिखेल नगरले वडा नं १० शारदा बतासेको पिङडाँडाको जग्गामा औद्योगिक ग्रामको काम सुरु गरेको छ । नगरका इञ्जिनियर हरेराम हुमागाईंका अनुसार औद्योगिक ग्राम बनाउन १ सय ४८ रोपनी क्षेत्रफल समेटिएको सडक निर्माण, घेराबार लगाउन तथा डीपीआरको प्रक्रियामा छ । रोशी गाउँपालिका–११ कालढुङ्गामा करिब ७० रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम बनाउन डिपिआर तयार छ । गाउँपालिकाले आवश्यक संरचना बनाउन थप ३४ लाख रूपैयाँ सहित १ करोड २६ लाख रूपैयाँको बोलपत्र आह्वान गरेको छ।

यसैबीच ‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्थक बनाउन नगरले खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ । नगरले कृषि उत्पादनमा जोड दिइरहेका बेला खेतीयोग्य जमिन मास्न नदिने निर्णय गरेको हो । रिङरोड राजमार्गसँग जोडिने भएकाले खेतीयोग्य जमिन जोगाएर मानव बस्ती यसअगावै विशेष आर्थिक क्षेत्र प्राधिकरणद्वारा पाँचखाल–७ को देवीस्थान पाँडुल्ला सुवर्णेश्वरी सामुदायिक वनको छ सय रोपनी र शिखरपुरको चार सय गरी एक हजार रोपनी क्षेत्रफलमा पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज)का लागि पूर्वाधार निर्माणका कार्य अन्तिम चरणमा पुगेको छ।

प्राधिकरणले निर्यातमूलक उद्योगलाई एउटै स्थानमा स्थापना गरेर निर्यातलाई प्रोत्साहन गर्न २ अर्ब ९५ करोड २७ लाख रूपैयाँको अनुमानित लागतमा पाँचखाल सेजको निर्माण अघि बढाएको थियो। पाँचखाल सेजमा ५२ निर्यातमूलक उद्योग स्थापना गर्न सकिने सम्भाव्यता रहेको गुरुयोजनामा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij