ई–आर्थिक, काठमाडौं । प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) जारी गरेको घोराही सिमेन्टमा माग अनुसार आवेदन नपरेपछि आवेदन दिने म्याद थप गरिएको छ ।
कम्पनीले १९ वैशाखदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेको नेपालीहरुले आवेदन दिने अन्तिम दिन मंगलबार बेलुकीसम्म माग अनुसार आवेदन परेन भने स्थानीयलाई निष्काशन खुला गरेको सेयरमा पनि माग अनुसार आवेदन नपरेपछि म्याद थप गरिएको छ ।
कम्पनीले १९ वैशाखबाट वैदेशिक रोजगारीमा रहेको नेपालको लागि प्रतिकित्ता १०० रुपैयाँको सेयरमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता सेयर निष्काशनमा ल्याएको थियो ।
उक्त आईपीओमा आवेदन दिने अन्तिम दिन मंगलबार बेलुकी ५ बजेसम्म १४ हजार ३११ आवेदकले ६ लाख ८७ हजार ५०० कित्ता सेयरको लागि आवेदन दिएको सीडीएस एण्ड क्लियरीङ लिमिटेडको तथ्यांकले देखाउँछ । जसअनुसार ६७ हजार कित्ता भन्दा धेरै सेयर बिक्री भएन । स्थानीयलाई निष्काशन गरेको सेयर पनि बिक्री नभएपछि आवेदन दिने म्याद १७ जेठसम्म थप गरेको छ ।
यसअघि आईपीओमा ठूलो मात्रामा आवेदन पर्ने गरेको थियो । मागभन्दा धेरै गुणा बढी आवेदन परिरहेका बेला घोराही सिमेन्टले जारी गरेको आईपीओमा भने लगानीकर्ताको आकर्षण नदेखिएको हो ।
कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि पनि १९ वैशाखबाट नै प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ३०० रुपैयाँ प्रिमियम थप गरेर ४०० रुपैयाँ प्रतिकित्ताको दरले ३ लाख ९७ हजार ११९ कित्ता सेयर निष्काशन खुला गरेको थियो । २ जेठसमम करिब ७० हजार कित्ता सेयरका लागि मात्रै आवेदन परेको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । कम्पनीको सेयर बिक्री नभएपछि १७ जेठसम्म १५ दिनको लागि आवेदन दिने म्याद थप भएको हो ।
स्थानीयलाई निष्काशन गरेको सेयरमा उद्योग प्रभावित दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १, २, ३, १४, १५, १७, १८ र १९ का स्थानीयले आवेदन दिन सक्नेछन् । यस्तै दाङको बंगलाचुली गाउँपालिका ३, ४ र रोल्पाको त्रिवेणी गाउँपालिका ३ र ४ का बासिन्दाले उद्योग प्रभावित क्षेत्रका बासिन्दाले आवेदन दिने सक्नेछन् ।