२०८३ साउन ११ सोमबार

मुआब्जा विवादले कार्गो रेलमार्ग अलपत्र

ई आर्थिक    आइतबार, फाल्गुन १४ २०७९
8.9K
Shares
मुआब्जा विवादले कार्गो रेलमार्ग अलपत्र

नेपालतर्फ रेल्वे यार्ड, स्टेसन र क्वाटर भवनको काम सुरु भएन

विराटनगर : सरकारले मुआब्जा विवाद नमिलाउँदा भारतको बथनाहदेखि मोरङको कटहरीसम्मको कार्गो रेलमार्ग एक दशकदेखि अलपत्र परेको छ । भारत सरकारको लगानीमा निर्माणाधीन उक्त मार्गको भारततर्फको भागमा काम सकिए पनि नेपालतर्फ मुआब्जा विवादले रोकिएको हो ।

तत्कालीन राष्ट्रपति रामवरण यादव २०६६ मा भारत भ्रमणमा जाँदा दुवै देशको सीमा जोड्ने विभिन्न पाँच स्थानमा भारतले रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । त्यसअनुरूप जोगवनी नाका जोड्ने १८ किलोमिटरको उक्त रेलमार्ग भारतीय चार अर्ब रुपैयाँ लागतमा २०६८ देखि बनाउन थालिएको थियो । २०७३ मा सकिनुपर्ने उक्त योजना मुआब्जा विवादले अलपत्र परेको हो । सरकारले मुआब्जा विवाद नसुल्झाउँदा कटहरी गाउँपालिका–१ मा रेल्वे यार्ड, स्टेसन र कर्मचारीको क्वाटर भवन निर्माण सुरु हुन सकेको छैन ।

त्यतिबेला नेपाली पक्षले १ सय १९ बिघा जमिन अधिग्रहण गरेर निर्माण कम्पनीलाई उपलब्ध गराउनुपर्ने द्विपक्षीय सहमति भएको थियो । तत्कालीन मुआब्जा निर्धारण समितिले प्रतिकट्ठा दुई लाख रुपैयाँका दरले जग्गा अधिग्रहण गरेको थियो । तर कटहरी–१ का २२ जग्गाधनीले उक्त मुआब्जामा आफ्नो ६ बिघा अधिग्रहण गर्न नदिने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले पाँच वर्षअघि प्रतिकट्ठा ८ लाख रुपैयाँका दरले मुआब्जा उपलब्ध गर्न दिएको आदेशलाई सरकारले हालसम्म कार्यान्वयन नगर्दा काम अघि बढ्न सकेको छैन ।

भारतीय भन्सार बिन्दुबाट विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्मको ८ किमिमा विभिन्न संरचना निर्माण भइसकेका छन् । यो योजनाको भारततर्फ पाँच किलोमिटर र नेपालतर्फ १३ किमि पर्छ । भारतको बथनाहा रेल्वे स्टेसनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको सात किमिमा पहिलो पटक २०७६ कात्तिकमा भारतीय पक्षले रेल्वे लिक परीक्षण गरेको थियो । उक्त कस्टम यार्डमा अहिले पैदल यात्रुका लागि ओभर ब्रिजसमेत बनाइसकिएको छ । रेल्वे विभागका इन्जिनियर रोशन देवका अनुसार नेपालतर्फ रेलको लिग, सिल्पर र वालास ओछ्याउने काम अन्तिम चरणमा पुगेको छ । तर रेल्वे यार्ड र स्टेसन निर्माण गर्नुपर्ने स्थानको जग्गाको विवाद सुल्झिएको छ । उनले मुआब्जा विवाद सल्टिएमा निर्माण पनि चाँडै सकेर नेपाललाई उक्त रेलमाग हस्तान्तरण हुने बताए ।

नेपाल र भारतबीच कूटनीतिक रूपमा उक्त रेलमार्ग हस्तान्तरणको विषय पटकपटक उठ्ने गरेको छ । केही दिनअघि परराष्ट्र सचिवस्तरीय बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले बथनाहदेखि विराटनगर आईसीपीसम्म ७.६ किलोमिटर रेल्वे तयार रहेकाले हस्तान्तरण गरिने बताएका थिए । भारतीय रेल्वे विभागले बथनाहबाट आईसीपीसम्मको रेल्वे ट्र्याक पटकपटक परीक्षणपछि पास गरिसकेको छ । भारतीय रेल्वेले नेपाललाई समेत आईसीपीसम्मको सम्पूर्ण निर्माण पूरा भएको जानकारी दिइसकेको छ । यो रेल मार्ग निर्माण भएपछि सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगका लागि आवश्यक कच्चा पदार्थ तथा तयारी उत्पादन सस्तो लागतमा रेलबाट ढुवानी हुने समाचार विनोद भण्डारीले कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij