ई–आर्थिक, रूपन्देही : इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसी नगद र सुन सहित पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आइतबार राति निवासबाटै उनलाई नियन्त्रणमा लिएको हो । उनको निवासबाट टोलीले ३५ तोला सुन र १८ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ ।
जिल्ला प्रहरी कास्कीमा सरुवा भएका उनी सोमबार बुटवलबाट रमाना लिएर कास्की जाने तयारीमा थिए । बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको र सुन फिर्ता गर्न उनले व्यापारीसँग नगद रकम लिएको भन्ने सुराकीकाआधारमा सीआईबीले छानबिन गरेको थियो । उनको साथबाट १८ लाख नगद र ३५ तोला सुन फेला परेको जानकारी आएको सीआईबीले जानकारी दिएको छ ।
सीआईबीका अनुसार स्थानीय व्यवसायी खिलेन्द्र जिसीले बोकेको झोलामा सुन फेला परेको थियो । जिसीसँग डीएसपी केसीको संलग्नता रहेको जानकारी आएपछि सीआईबीको टोलीले अनुसन्धान गर्दा ९ लाख ५० हजार रुपैयाँको चेक र ८ लाख ५० हजार नगदै फेला परेको थियो ।
स्थानीयहरुले शक्तिको आडमा डिएसपी के.सी. गलत धन्दामा सक्रिय हुँदै आएको पाइएको छ ।
केसीले आफूलाई गृह मन्त्री बालकृष्ण खाँणको नजिकको भन्दै बुटवलका व्यवसायीसँग रकम असुली गर्दै आएको बुझिएको छ ।
एक वर्ष अघि तिलोत्तमा नगरपालिका–२ जानकरी नगरमा रहेको अवैध कल सेन्टरसँग पनि १५ लाख रुपैयाँ माग गरेका थिए । त्यसको लेनदेनका कुरा नमिलेपछि छापा मारेर झण्डै १ सय ५० कर्मचारी पक्राउ गरेका थिए । त्यस्तै, बुटवलका अन्य केही व्यवसायी पनि केसीबाट पीडित भएको गुनासो गर्दै आएका छन् ।
डीएसपी केसी तिनै सुरक्षाकर्मी हुन जसले साउन १ गते तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिको विवादमा नगरपालिका परिसरमा वडा अध्यक्षलाई लात्ताले हानेर पौडी पोखरीमा फालिदिएका थिए । स्थानीय तहका जनप्रतिनिधले कारबाहीको माग गर्दा पनि उनी शक्तिकै आडमा जोगिएका थिए ।
डिएसपी केसीमाथि अहिले सर्वसाधारण र स्थानीयबाट कडा कारावाहीको चौतर्फी दबाव बढेको छ ।