२०८३ साउन ११ सोमबार

आधाले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

ई आर्थिक    आइतबार, पौस ३ २०७९
3.6K
Shares
आधाले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ । चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धता आधाले घटेको छ । उद्योग विभागका अनुसार साउनदेखि मङ्सिर महिनासम्म १११ परियोजनामार्फत १२ अर्ब ४४ करोड ९२ लाख ८८ हजार ७०४ रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको हो । गत वर्ष सो अवधिमा १२२ परियोजनामार्फत २९ अर्ब ९५ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

यो अवधिमा वैदेशिक लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको छ । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको विभागले जनाएको छ ।

विभागका वैदेशिक लगानी शाखा प्रमुख शङ्करसिंह धामीले विदेशी लगानीको सीमा घटाइएको, विदेशी नागरिकलाई भिसामा कडाइ गरिएको र विश्वभर देखिएको आर्थिक सङ्कटका कारण लगानी प्रतिबद्धता घटेको बताउनुभयो । यो पाँच महिनाको अवधिमा वैदेशिक लगानीका परियोजनाको सङ्ख्यामा धेरैले नघटे पनि लगानी प्रतिबद्धता रकम भने आधाभन्दा बढीले कमी भएको उहाँले जानकारी दिनुभयो ।

गत असोज अन्तिमतिर सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोड रुपियाँमा झारेको छ । लगानीको न्यूनतम सीमा घटाएकाले पनि कम विदेशी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा विदेशी लगानीमा ९१ वटा साना उद्योग, १९ मझौला र एउटा ठूलो उद्योग दर्ता भएका छन् । विदेशी लगानी प्रतिबद्धता सबैभन्दा धेरै सेवामूलक र पर्यटन परियोजनामा आएको धामीले जानकारी दिनुभयो ।

विभागका अनुसार पाँच महिनामा उत्पादनमूलक परियोजनामा सात, पर्यटनमूूलक ४७, सेवामूलक ५२, सूचना प्रविधिमा आधारित तीन र पूर्वाधारको एक परियोजनामा लगानी प्रतिबद्धता आएको छ । ती परियोजनाबाट छ हजार ५०९ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।

यो पाँच महिनाको अवधिमा ७५३ लगानीकर्ता, ८० प्रतिनिधि, १९७ जना आश्रित व्यक्तिलाई बिजनेस भिसा सिफारिस गरिएको विगागले जनाएको छ ।

प्रतिबद्धताअनुसार विदेशी लगानी नभित्र्याएपछि विदेशी नागरिकलाई बिजनेस (व्यावसायिक) भिसामा कडाइ गरेको छ । पछिल्लो समय विदेशी नागरिकले बिजनेस भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानीका लागि स्वीकृत लिने गरेको विभागको ठम्याइ छ ।

यसैबीच सरकारले विदेशी लगानीका कम्पनीलाई प्रतिबद्धताअनुसारको लगानी भित्र्याउन सहजीकरण गर्ने भएको छ । विदेशी लगानीकर्ताले उद्योग विभागमा प्रतिबद्धता जनाएअनुसार पूरा लगानी ल्याउन सेयर खरिद बिक्री, लाभांश प्राप्तिलगायतका विषयमा समस्या देखिएको छ । अहिले यही समस्या हटाउने तयारी भएको विभागले जनाएको छ ।

विदेशी लगानी तथा हस्तान्तरण शाखाले विदेशी लगानीको लेखाङ्कन तथा लेखाङ्कन समर्थनका लागि प्रमाणसहित निवेदन दिन लगानीकर्तालाई सूचित गरेको छ । शाखाले मङ्सिर २६ गते ३५ दिने सूचना प्रकाशित गरी लगानीकर्तालाई आह्वान गरेको हो ।

विभागले प्रचलित कानुनबमोजिम विदेशी लगानी स्वीकृत गरी उद्योग दर्ता भई सेयर लगतसमेत कायम भएका तर विदेशी लगानी वापतको रकम नेपाल भित्र्याएको प्रमाण पेस गर्न नसकेका लगानी विवरण विभागले मागेको हो ।

नेपाल राष्ट्र बैङ्कबाट लेखाङ्कन, लेखाङ्कन समर्थन नभएका उद्योगको सेयर खरिद बिक्री, पुनर्लगानी, लगानी फिर्ता लैजानेलगायतका उद्योग प्रशासनका विषयलाई नीतिगत तहमा समाधान गर्न विवरण माग गरिएको विभागको जनाएको छ ।

यस्ता लगानीकर्ताले विभागमा ३५ दिनभित्र उद्योग विभाग, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखामा आइपुग्ने गरी विवरण उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ ।

यस्तै प्रतिबद्धताअनुसार विदेशी लगानी भित्रिन नसक्नुको कारण, राष्ट्र बैङ्कबाट लेखाङ्कन हुन नसक्दा परेको समस्यालगायतका विषयमा प्रमाणसहित निवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । एक पटकभन्दा बढी विदेशी लगानी स्वीकृति भएका उद्योगको हकमा सबै विदेशी लगानी स्वीकृतिको विवरण उल्लेख गर्नुपर्नेछ भने आफूले प्रस्तुत गरेका विवरणलाई पुष्टि हुने कागजात संलग्न गर्नुपर्ने उल्लेख रहेको समाचार लक्ष्मी सापकोटाले गोरखापत्रमा लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij