ई–आर्थिक, काठमाडौं । पछिल्लो साता धितोपत्र दोस्रो बजारको कारोबारलाई हेर्दा सुधारको संकेत देख्न सकिन्छ ।
पछिल्लो साता बजारका महत्वपूर्ण सबै सूचकहरू सकारात्मक देखिएसँगै बजारले सुधारको संकेत गरेको अनुमान लगाउन सकिन्छ । अघिल्लो साता १ हजार ९३३ दशमलव ५५ विन्दुमा बन्द भएको बजार गत साता भने १ हजार ९६१ दशमलव शून्य ६ विन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो साताभन्दा गत साता बजार २७ दशमलव ५१ अंकले माथी उक्लिएको हो ।
नेप्से परिसूचकसँगै गत साता सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ७४ अंक बढेको छ । अघिल्लो साता ३८० दशमलव ९२ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स गत साता ३८३ दशमलव ६६ विन्दुमा पुगेको हो । पछिल्लो समय धितोपत्र बजारमा मर्जर तथा प्राप्ति प्रयोजनका लागि रोकिएका कम्पनीहरूको शेयर कारोबार फुकुवा हुनु, सूचीकृत कम्पनीले लाभांश घोषणा गर्नुले पनि बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
लाभांश सुरक्षित गर्ने सिजनमा वाणिज्य बैंक र बीमा कम्पनीलगायत करीब ३ दर्जन कम्पनीको शेयर कारोबार मर्जर तथा प्राप्ति प्रयोजनका कारण रोकिएको थियो । पछिल्लो समय ती कम्पनीहरूको कारोबार फुकुवा हुने क्रममले निरन्तरता पाएको छ ।
रोक्का भएका कम्पनीहरूको शेयर कारोबार फुकुवा भएसँगै सेलिङ प्रेसर आउने र यसले बजारलाई नकारात्मक प्रभाव पार्ने अनुमान लगानीकर्ताको थियो । तर घटेको बजारमा राम्रा कम्पनीहरूको शेयर कारोबार खुला भएसँगै डिमान्ड बढ्दा बजार सकारात्मक बन्न पुगेको अनुमान जानकारहरूको छ ।
अघिल्लो साताभन्दा गत साता कारोबार रकम र कित्तासँगै कुल बजार पूँजीकरण समेत बढेको छ । अघिल्लो साता रू. ३ अर्ब ३० करोड भन्दा बढीको ९१ लाख ७२ हजार ४३८ कित्ता धितोपत्र खरीदविक्री भएकोमा गत साता रू. ६ अर्ब ६४ करोडभन्दा बढीको १ करोड ६७ लाख ९६ हजार ९६९ कित्ता धितोपत्र खरीदविक्री भएको छ । अघिल्लो साताभन्दा गत साता रू. ३ अर्ब ३४ करोडभन्दा बढीको ७६ लाख २४ हजार ५३१ कित्ता बढी धितोपत्र खरीदविक्री भएको छ ।
अघिल्लो साता तीन दिन मात्र धितोपत्र दोस्रो बजार खुला भएको थियो भने गत साता पाँच दिन कारोबार भएको छ । गत साता औसतमा रू. १ अर्ब ३२ करोड बराबरको ३३ लाख ५९ हजार ३९३ कित्ता धितोपत्र खरीदविक्री भएको देखिन्छ । औसतमा गत साता रू. २२ करोड ८४ लाखभन्दा बढीको ३ लाख १ हजार ९१४ कित्ता धितोपत्र खरीदविक्री भएको छ ।
गत साता लगानीकर्ताको कुल सम्पत्तिको मूल्य अघिल्लो साताभन्दा रू. ३९ अर्ब ५७ करोड ५१ लाखले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन रू. २७ खर्ब ८१ अर्ब २९ करोड ९८ लाख रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन रू. २८ खर्ब २० अर्ब ८७ करोड ४९ लाख कायम भएको छ ।
पछिल्लो साताको कारोबारमा लघुवित्तले सर्वाधिक कमाए
गत साता सकारात्मक बनेको बजारबाट लघुवित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । समूहगत उपसूचकमा आएको बृद्धिको आधारमा लघुवित्त समूहका लगानीकर्ताहरूले सर्वाधिक कमाएको देखिएको हो । गत साता अघिल्लो साताभन्दा लघुवित्त समूहको उपसूचक सर्वाधिक ३ दशमलव ५७ प्रतिशत बृद्धि भएको छ ।
त्यस्तै व्यापारिकको २ दशमलव ६० प्रतिशत, जीवन बीमाको १ दशमलव ८१ प्रतिशत, बैंकिङ्गको १ दशमलव ५८ प्रतिशत, विकास बैंक र जलविद्युतको समान १ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ८५ प्रतिशत, वित्तको शून्य दशमलव ८३ प्रतिशतले बढेको छ ।
त्यसैगरी अन्यको शून्य दशमलव ४४ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ३४ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव ३२ प्रतिशत र लगानी समूहको शून्य दशमलव २१ प्रतिशत उपसूचक बढेको छ । गत साता म्युचुअल फण्डको उपसूचक भने शून्य दशमलव ८१ प्रतिशत घटेको छ ।