ई–आर्थिक, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीले प्रसारण लाइन निर्माणका लागि विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसीए नेपालले ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो ।
एमसीए नेपालले तीन ओटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ । लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा ११७ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।
त्यस्तै, रातमाटे-दमौली ९० किलोमिटर लामो ४०० केभी र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइनसमेत यसैमा समेटिएको छ ।
सोमवार सार्वजनिक भएको सूचनाअनुसार आगामी चैत १३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ । नेपालको प्रसारण प्रणालीको विकास तथा सडक निर्माणका लागि अमेरिकाले अनुदान सहयोग उपलब्ध गराएको छ ।
एमसीसीले कूल ५० करोड डलर र नेपाल सरकारकातर्फबाट १३ करोड डलर सो परियोजनाका लागि उपलब्ध हुनेछ । आयोजना निर्माणका लागि आगामी अगस्टदेखि गणना हुनेगरी ५ वर्षे अवधि प्रारम्भ हुनेछ । एमसीसीले उक्त परियोजना ५ वर्षमा सम्पन्न गर्ने छ ।- रासस