ई–आर्थिक, काठमाडौं । फाइनान्स कम्पनीहरुले पनि मंसिर महिनाका लागि ब्याजदर घटाउने निर्णय गरेका छन् । नेपाल वित्त संघका अध्यक्ष सरोजकाजी तुलाधरका अनुसार कात्तिक महिनाको तुलनामा निक्षेपको ब्याजदर ०.१५ देखि ०.२० प्रतिशत बिन्दुसम्म घटाउने निर्णय भएको छ ।
अब फाइनान्स कम्पनीहरुले व्यक्तिगत मुद्दतीमा अधिकतम १ वर्षका लागि १३.३ प्रतिशतसम्म ब्याज दिने भएका छन् । त्यस्तै दुई वर्षे व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १३.३५ प्रतिशतसम्म हुनेछ ।
यसअघि विकास बैंकहरुले पनि मंसिरका लागि ब्याजदर घटाउने निर्णय गरेका छन् । मंसिरमा एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा विकास बैंकहरुले अधिकतम १२.८५ प्रतिशत ब्याजदर प्रदान गर्ने छन् । कात्तिकमा यस्तो ब्याजदर अधिकतम १३ प्रतिशत थियो ।
विकास बैंकहरुले मंसिरमा एक वर्षे संस्थागत मुद्दती निक्षेपमा १०.८५ र साधारण निक्षेपमा ७.८५ प्रतिशत ब्याजदर प्रदान गर्नेछन् । वाणिज्य बैंकहरुले भने मंसिर महिनाका लागि पनि कात्तिककै ब्याजदरलाई यथावत राख्ने भएका छन् । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा अधिकतम १२.१३३ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएका छन् भने संस्थागतमा १०.१३३ प्रतिशतसम्म छ ।