ई–आर्थिक, काठमाडौं । सरकारले आगामी मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अनलाइन आवेदन प्रणाली बन्द गर्ने भएको छ । लाइसेन्स अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द हुने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
निर्वाचन प्रक्रियामा कर्मचारी खटिनु पर्ने भएकाले आगामी १ मंसिरदेखि लाइसेन्स अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको हो ।
यातायात व्यवस्था विभागले सूचना जारी गरेर लाइसेन्स अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने जानकारी दिएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुने सूचनामा उल्लेख छ ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभागबाट कर्मचारी खटिनुपर्ने भएकाले सेवा रोक्नुपरेको विभागको भनाई छ ।
विभागले लाइसेन्स छपाइ र वितरण लामो समयदेखि चरम ढिलासुस्ती गर्दै आएको छ । ट्रायल पास भइसकेकाले करिब तीन वर्षसम्म पनि लाइसेन्स पाउन सकेका छैनन् । नवीकरणका लागि आवेदन दिएकाले समेत लामो समयसम्म लाइसेन्स पाउन कुर्नुपर्ने अवस्था छ ।