प्रदीप मेन्याङ्बो, सुनसरी : तिहारका लागि व्यापारीहरूले भारतबाट लाखाैंका हाइब्रिड सयपत्री फूल ल्याएर धरान, विराटनगर, दमक, विर्तामोडमा रहेका शीत भण्डार (कोल्ड स्टोर) मा भण्डारण गरेका छन् । स्वदेशमा समयमै पर्याप्त मात्रामा सयपत्री फूलको उत्पादन नहुँदा यसपटक पूर्वमा भारतीय हाइब्रिड सयपत्री फूलले बजार ओगट्ने भएको छ ।
पूर्वका किसानले तिहार लक्षित स्थानीय जातको सयपत्री फूल रोपे पनि मौसमको प्रभाव र बढी झरी परेकाले सेतेरोग लागेको छ । जसले गर्दा स्थानीय फूलको उत्पादन कम हुने देखिएपछि व्यापारीहरुले शीत भण्डार केन्द्रमा भारतीय फूल भण्डारण गरेका हुन् ।
धरानस्थित कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भारतको कोलकत्ताबाट यतिबेला सयपत्री फूलका माला धरान भित्रिन थालेको बताए । ‘बिहीबारसम्ममा सयपत्री फूलका करिब १ लाख ५० हजार माला कोल्ड स्टोरमा राखिएका छन्’ उनले भने ‘थप ५० हजार माला आउन बाँकी छ ।’ यो वर्ष नेपालमा सयपत्री, मखमलीलगायत फूल फूल्ने समय भन्दा करिब १५ दिनअघि नै तिहार परेकाले पनि स्थानीय उत्पादनको फूल बजारमा कम आउने उनको भनाइ छ । यस पटक खपतको ७५ प्रतिशत तयारी माला भारतबाट व्यापारीहरुले ल्याउने भट्टराईले बताए ।
झापाको दमकस्थित श्री शान्ति कोल्ड स्टोरमा मात्र ३० हजार किलो अर्थात् करिब डेढ लाख माला कोलकत्ताबाट ल्याएर राखिएको व्यवस्थापक खेमनाथ काफ्लेले जानकारी दिए । उनले भने, ‘यो वर्षको तिहारमा फूल्नेगरी स्थानीय फूल नभएपछि गत वर्षको तुलनामा दोब्बर भारतीय सयपत्री फूल कोल्ड स्टोरमा राखिएको हो ।’ विराटनगरस्थित रामजानकी कोल्ड स्टोरका व्यवस्थापक पुरुषोतम धमलाले पनि करिब ३० हजार किलो नै भारतीय फूल स्टोर गरिएको बताए । पूर्वका अन्य कोल्ड स्टोरहरु पनि यसपटक भारतीय हाइब्रिड फूलले भरिएका छन् ।
धरान ४ बसन्तटारका स्थानीय कृषक कृष्ण राईले यस पटकदेखि तिहार लक्षित हाइब्रिड सयपत्री फूल उत्पादन सुरु गरेको बताए । उनले करि ५० हजार विरुवा रोपेको र एक बोटमा करिब एक सय थुङ्गा फूल उत्पादन भएको बताए । उनले भने, ‘पूर्वमा व्यावसायिक रुपमा फूलको खेती गर्ने किसान नभएकाले भारतकै भर पर्नु पर्ने अवस्था छ । यसपटकको तिहारमा करिव १५ लाख रुपैयाको फुल विक्रि गर्ने लक्ष्य राखेको छु ।’
पूर्वका प्रमुख शहरहरुमा तिहारमा कम्तिमा १२ करोड रुपैयाँ भन्दा बढीको भारतीय हाइब्रिड फूल आयात हुने अनुमान छ । फ्लोरिकल्चर एसोसिएसनका सदस्य प्रेम प्रसाद पराजुलीका अनुसार धरानमा मात्र करिब ३ करोडको, विराटनगरमा ६ करोड, इटहरीमा अढाई करोड रुपैयाँ फुल खपत हुने छ । उनले भने, ‘तिहारलक्षित सयपत्री, मखमली फूलको व्यवसायिक खेती गर्न राज्यले किसानलाई प्रेरित गर्न नसक्दा भारतसँगै भर पर्नु परेको छ ।’