रूपन्देहीको सम्मरीमाई गाउँपालिका–५ रोहिणीहवामा माछापुच्छ्रे बैंकले सञ्चालन गरेको शाखारहित बैंकिङ सेवा कार्यालयमार्फत जम्मा गरेको पैसा बैंकमा नभएको जानकारी पाएपछि भौचर देखाउँदै पीडित स्थानीय ।
भैरहवा : आफ्नो शाखारहित बैंकिङ सेवा कार्यालयबाट ग्राहकले जम्मा गरेको रकम हिनामिना गर्नेमाथि कारबाही प्रक्रिया अगाडि बढाउन माछापुच्छ्रे बैंक लिमिटेडले पीडित ग्राहकलाई जाहेरी दिन आह्वान गरेको छ । रूपन्देहीको सम्मरीमाई गाउँपालिका–५ रोहिणीहवा र लुम्बिनी सांस्कृतिक नगरपालिकाको मुजहनामा बैंकले ०७५ सालमा प्रतिनिधि छनोट गरी सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाका क्रममा रकम जम्मा गरेका स्थानीयको करोडौं रुपैयाँ हिनामिना भएको पाइएको थियो ।
स्थानीयको रकम हिनामिना भएको घटना विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि बैंकले पीडित ग्राहकलाई नजिकको बैंकको कुनै पनि शाखा वा स्थानीय प्रहरी प्रशासनसमक्ष जाहेरी दिन आग्रह गरेको हो । ‘यस घटनाबारे कानुनी ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन हामीले रूपन्देही प्रहरीमा जाहेरी दिइसकेका छौं,’ बैंकका प्रवक्ता सुनिल खतिवडाले भने, ‘हाम्रा ती कार्यालयबाट पीडित हुनुभएका सम्पूर्ण ग्राहकलाई जाहेरी दिन पनि हामीले सार्वजनिक सूचनामार्फत आह्वान गरिसकेका छौं ।’
यस घटनाबारे बैंकले शनिबार एक विज्ञप्ति जारी गर्दै रकम हिनामिना गर्नेमाथि अनुसन्धान सुरु भएको र सम्बन्धित प्रहरी क्षेत्रका प्रहरी कार्यालयहरूबाट कानुनी उपचार खोज्न स्थानीयलाई आग्रह गरेको छ । बैंकले ती बैंकिङ सेवा कार्यालयबाट स्थानीय सर्वसाधारणलाई सर्वसुलभ तरिकाले बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकिएको सर्तको अधीनमा रही शाखारहित ग्राहक सेवा केन्द्रमार्फत झन्डै ५ वर्षअघिबाट सेवा सुरु गरेको थियो ।
बैंकले शाखारहित बैंकिङ सेवा कार्यालय सञ्चालनका लागि सम्मरीमाई–५ का निरञ्जन पाठकलाई व्यावसायिक प्रतिनिधि तोकेको थियो । बैंकसँग आफूले गरेको सम्झौता दुई वर्षको मात्र कार्यकाल रहेको र त्यस अवधिमा यस खालका कुनै पनि गुनासो नआएको पाठकले बताउँदै आएका छन् । दुई वर्षपछि बैंकले कोसँग सम्झौता गर्यो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको उनको दाबी छ ।
पाठकका अनुसार ०७५ सालमा सेवा सञ्चालनका लागि आफूसँग सम्झौता भएपछि कार्यालय सञ्चालनका लागि सिकन्द्र ठाकुर नामका स्थानीयलाई बैंकसमेतको रोहवरमा कर्मचारी नियुक्त गरिएको र आफूसँगको सम्झौता सकिएपछि सिकन्द्रले नै कार्यालयबाट सेवा सञ्चालन गर्दै आएका थिए । यसबारेमा सिकन्द्र भने सम्पर्कमा आएका छैनन् ।
त्यस क्षेत्रका व्यावसायिक प्रतिनिधि निरञ्जन र सिकन्द्रले विभिन्न व्यक्तिबाट बैंकमा जम्मा गर्ने भनेर बुझेको रकम अनलाइन सिस्टममार्फत नै प्रिन्ट हुने भौचर उपलब्ध गराउनुपर्नेमा बैंक भौचरको अनधिकृत प्रयोग गरी हस्तलिखित भौचर प्रदान गर्ने र बैंकको अनलाइन सिस्टममार्फत रकम जम्मा नै नगरी आफैं रकम राख्ने गरेकाले उनीहरूलाई कानुनी प्रक्रियामा ल्याइएको बैंकले जनाएको छ ।
एजेन्टले कतिपय स्थानीयसँग भएको एटीएम कार्ड, चेक र भौचर आफैं लिएका छन् । ती सेवा कार्यालयबाट बदमासी हुने गरेको कुरा जानकारीमा आएपछि बैंकले आफ्नो किसिमबाट छानबिन गरेको र बैंकलाई ती कार्यालयबाट बदमासी भएको लागेपछि तत्कालै गत असार महिनामा रूपन्देही जिल्ला प्रहरी कार्यालयमा जानकारीसहितको आवश्यक कारबाहीका लागि लिखित जाहेरी दिइएको प्रवक्ता खतिवडाले बताए । ‘प्रहरीलाई जाहेरी दिइसकेपछि थप अनुसन्धान र कारबाही गर्ने काम प्रहरीको हो । हाम्रो भूमिका भनेको समन्वयकारी र आवश्यक सहयोग जुटाउने हो,’ खतिवडाले भने, ‘किन कारबाही अघि बढेन भन्नेबारे प्रहरीले जान्ने कुरा हो ।’
यस विषयमा बैंकले गत असार ६ मा ठाडो उजुरी दिएको भए पनि पीडित सबैको विवरण भने उपलब्ध नगराएको रूपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए । ‘हामीलाई पीडित कसैको पनि न विवरण छ, न त जोहरी नै,’ रेग्मीले भने, ‘जाहेरी दिने बैंकका कर्मचारीले नै अहिले तत्कालै कारबाहीमा नजाने र जानकारीका लागि मात्रै जाहेरी दिइएको भनेकाले कारबाही प्रक्रिया रोकिएको हो ।’
पीडितको जाहेरी नआईकन कसैलाई पनि नियन्त्रणमा लिई कारबाही गर्न नमिल्ने एसपी रेग्मीको भनाइ छ । पीडितका तर्फबाट बैंकले वा स्वयं पीडितले जाहेरी दिए तत्काल कारबाही प्रक्रिया अघि बढाइने उनले जनाए । स्थानीय पीडितले भने आफ्नो रकम हिनामिना भएको बारेमा बैंकको भैरहवा र लुम्बिनी शाखामा गई जाहेरी दिँदा पनि ती शाखाबाट जाहेरी लिन नमानी पैसा फिर्ता पाइन्छ भन्दै थुमथुम्याएर राखेको दाबी गरेको समाचार माधव ढुंगानाले कान्तिपुरमा लेखेका छन् ।