२०८३ साउन १२ मंगलबार

बाढीले दुईओटा जलविद्युत् आयोजनामा क्षति, नागरिक अन्धकारमा बस्न बाध्य

ई आर्थिक    सोमबार, असोज २४ २०७९
5K
Shares
बाढीले दुईओटा जलविद्युत् आयोजनामा क्षति, नागरिक अन्धकारमा बस्न बाध्य

बागलुङ । पाँच दिनदेखिको निरन्तर वर्षाका कारण बागलुङको निसीखोला गाउँपालिकाका दुईओटा जलविद्युत् आयोजनामा क्षति हुँदा यहाँका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । निसीखोला–४ र ५ मा रहेका विद्युत् आयोजनामा बाढी पस्दा र पहिराले नहर बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको हो ।

निसीखोला पहिलो लघु जलविद्युत् आयोजनाको विद्युत् गृहमा बाढी पसेर विद्युत् उत्पादन अवरुद्ध भएको स्थानीय मनबहादुर घर्ती मगरले जानकारी दिए । यस्तै निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको नहर भत्किएपछि अवरुद्ध भएको आयोजनाका व्यवस्थापक रामप्रसाद चालिसेले जानकारी दिए । वर्षाका कारण विद्युत् सेवा सञ्चालन गर्न समस्या भएको बताए । पहिराले नहर जोखिममा पर्ने बित्तिकै बनाउन शुरू गरे पनि अझै पाँच दिन विद्युत् सञ्चालन गर्न नसकिने उनले बताए । ‘पहिरोले नहर बगाउन थालेदेखि नै काम शुरू गरेका हौं,’ उनले भने, ‘तर वर्षाका कारण सोचेअनुसार काम हुन सकेन । तैपनि विद्युत् सेवा छिटो सञ्चालनमा ल्याउन कामदारहरू खटाइरहेका छौं ।’

विद्युत् सञ्चालनमा आउन अझै पाँच दिन लाग्न सक्ने उनले बताए । कुनापट्टिबाट नयाँ नहर बनाउनुपर्ने भएकाले केही दिन ढिला हुन सक्ने उनको भनाइ थियो ।

दुईओटा विद्युत् आयोजना अवरुद्ध हुँदा यहाँका दर्जनौं साना तथा घरेलु उद्योगहरू ठप्प भएका छन् । विद्युत् अवरुद्ध भएपछि दशैंसमेत राम्ररी मनाउन नपाएको स्थानीयको भनाइ छ । निसीखोला पहिलो लघु जलविद्युत् आयोजनाको भने विद्युत् गृहभित्र बाढीसहित पसेको लेदो सफा गर्ने काम भइरहेको आयोजनाले जानकारी दिएको छ । दुई विद्युत् आयोजना अवरुद्ध हुँदा निसीखोला गाउँपालिका–३, ४ र ५ का करीब १० हजार नागरिक अन्धकारमा बस्न बाध्य भएको व्यवस्थापक चालिसेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij