२०८३ साउन १० आइतबार

कृषि उत्पादनमा गाउँटोललाई आत्मनिर्भर बनाउने सहकारीको लक्ष्य

ई आर्थिक    बुधबार, भाद्र २९ २०७९
11K
Shares
कृषि उत्पादनमा गाउँटोललाई आत्मनिर्भर बनाउने सहकारीको लक्ष्य

भदौ २९, पोखरा । कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका–२२ पुम्दीका किसान भने सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिएका छन् ।

गाउँ टोललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको पुम्दीभुम्दी कृषि सहकारी संस्थामा आबद्ध २ सय ४० शेयर सदस्यलाई नै कृषि उत्पादनसँग जोड्ने योजनाका साथ विभिन्न कार्यक्रम अघि सारिएको छ । घर–घरमा भैँसीपालनमा जोड दिँदै सहकारीले गाउँमै राँगो खरिद गरिसकेको पुम्दीभुम्दी कृषि सहकारी संस्थाका अध्यक्ष खेमराज बरालले जानकारी दिए । राँगो खरिदसँगै भैँसीका लागि राँगो खोज्न भौतारिनुपर्ने अवस्था अन्त्य भएको छ ।

शेयर सदस्यका लागि भैँसीको प्रतिप्रजनन रू. १ हजार ५०० लिने गरिएको जानकारी दिँदै उनले शेयर सदस्यबाहेक अन्यत्र आवश्यक परेमा राँगो पु¥याउनुपर्ने स्थानको भौगोलिक दूरीअनुसार शुल्क लिने गरिएको बताए । उनका अनुसार पोखरा महानगरपालिका कृषि महाशाखाबाट ५० प्रतिशत अनुदानबापत प्राप्त रू. ५० हजार र सहकारीको रू. ५० हजारसहित रू. १ लाखमा तीन वर्षअघि राँगो खरिद गरिएको हो ।

गाउँमै राँगो भएपछि गाउँमा क्रमशः भैँसीपालनतर्फ स्थानीयवासी आकर्षित हुँदै गएको स्थानीयवासी एवं कोदी शान्ति टोल विकास संस्थाका आशिषकुमार बरालले जानकारी दिए । ‘गाउँमा राँगो भएपछि भैँसीपालक कृषकलाई ठूलै सहयोग मिलेको छ,’ उनले भने । गाउँबाट दैनिक दूध बिक्री गरी स्थानीयवासीले आयआर्जन बढाएका छन् ।

बाख्रापालनमा पनि जोड दिएको सहकारीले हालै सामूहिक बाख्रापालन शुरू गरेको छ । कुल ८० बाख्रापालन गर्ने लक्ष्य लिएको सहकारीले एक महीनाअघि ४० बाख्रा खरिद गरिसकेको छ । बाख्राका लागि खोरलगायत पूर्वाधार निर्माणका लागि रू. ५० लाखसम्म खर्च लाग्ने अनुमान गरिएको र हालसम्म करीब रू. ४० लाख खर्च भइसकेको छ । थप बाख्रा चाँडै खरीद गर्ने तयारी गरिएको बरालले जानकारी दिए । बाख्रापालन गर्न १२ वर्षका लागि १५ रोपनी जग्गा भाडामा लिएर निहारो, टाँकी लिपिलिपिजस्ता घाँस लगाउन थालिसकिएको छ । बाख्रापालनका लागि स्थानीय दुई जनाले प्रत्यक्ष रोजगारी पाइसकेका छन् ।

तरकारी खेतीका लागि टनेल निर्माणका लागि सहकारीमार्फत प्रोत्साहन एवं सहयोग गर्दै आएकामा हाल गाउँमा करीब ३५–४० वटा टनेल निर्माण भइसकेका छन् । पोखरा बजारबाट नजिक रहेका कारण यहाँ उत्पादित तरकारीको बजारमा माग बढ्दो छ ।

कृषिप्रति आकर्षण बढिरहे पनि यस क्षेत्रमा बाँदरको भने समस्या रहेको जनप्रतिनिधि कृष्णकुमारी पौडेल देवकोटाले बताइन् । ‘बाँदरको व्यवस्थापन यस क्षेत्रका लागि गम्भीर समस्याका रूपमा देखिएको छ,’ उनले भनिनु, ‘बाँदरको दीर्घकालीन व्यवस्थापन यस क्षेत्रको चुनौती हो ।’

पोखरा बजारबाट नजिक रहेको पुम्दीमा कृषिका धेरै सम्भावना रहेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए । सहकारीमार्फत सामूहिक कृषिमा जोडिएका यहाँका कृषकलाई कार्यालयका तर्फबाट गर्न सकिने सबै किसिमका सहयोगका लागि उनले प्रतिबद्धता व्यक्त गरे । –रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij