ई–आर्थिक, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई टाट पल्टाउन नयाँ स्टक एक्सचेञ्ज ल्याउन लागिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीको दाबी गरेका छन् । सरकारले नयाँ स्टक एक्सचेन्ज ल्याउने लाईसेन्स वितरणको बाटो सरकारले खुला गरेसँगै नेप्सेका कर्मचारीहरु विरोधमा उत्रिएका छन् ।
युनियनले प्रेस विज्ञप्ती जारी गर्दै नयाँ स्टक एक्सचेञ्जका लागि लाईसेन्स वितरण गर्ने सरकारी कदमको विरोध गरेका हुन् । युनियनले नयाँ स्टक आवश्यक नरहेको भन्दै नेप्सेलाईनै पुन : संचरना गर्दै यसको आधुनिकीकरण गर्नुपर्ने माग गरेका छन् । विश्वभर स्टक एक्सचेञ्जहरू मर्ज भइरहेको अवस्थामा नेपालको अर्थतन्त्रको आकारको आधारमा एउटै स्टक एक्सचेञ्ज प्रयाप्त रहेको भनाइ युनियनको छ ।
अर्थतन्त्रको ऐनाको रुपमा रहेको पूँजीबजार देश विकासको निर्धारक नरहेको जिकिर समेत युनियनले विज्ञप्तीमार्फत गरेको छ । धेरै स्टक एक्सचेञ्ज खोल्दैमा प्रतिस्पर्धा नहुने भनाइ पनि उसको छ । साथै नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग दुई ओटा स्टक एक्सचेञ्जको नियमन गर्ने क्षमता नभएको बुझाइ समेत युनियनको छ ।
युनियनले विश्वभरका स्टक एक्सचेञ्जसँगको तुलनामा विभिन्न आठ बुँदाहरू उल्लेख गर्दै नेपालमा अर्को स्टक एक्सचेञ्ज आवश्यक नभएको प्रष्ट पारेको छ । बैंक तथा वित्तीय संस्था, दूरसञ्चार कम्पनी, बीमा वा यस्तै कुनै संस्थाहरूको संख्या बढाएर प्रतिस्पर्धा हुने तर संख्या थपेर मूल्यमा प्रतिस्पर्धा ल्याउने भन्ने विषय पूँजीबजार नभएको पनि उसको भनाइ छ ।
‘एउटा कम्पनी दुबै स्टक एक्सचेञ्जमा सूचीकृत हुँदा त्यसको मूल्य फरक पर्न जान्छ’ युनियनले भनेको छ, ‘स्टक एक्सचेञ्जले धितोपत्रको दोस्रो बजार कारोबार स्थान उपलब्ध गराउने हो, यो कहाँ छ, कतिओटा छ भन्नेसँग सरोकार राखिदैन ।’
हाल सञ्चालनमा रहेका ४४ ओटा सार्वजनिक संस्थामध्ये नेप्से उत्कृष्ट संस्था रहेको दाबी पनि उसको छ । सरकारको बहुमूल्य सम्पत्तिको रुपमा रहेको नेप्सेले सरकारलाई वर्षेनी ५० देखि १६७ प्रतिशतसम्म नगद लाभांश दिदैं आएको समेत युनियनले बताएको छ ।
अहिले नेप्सेमा २४०ओटा कम्पनीहरू सूचीकृत रहेका छन् ।निरन्तर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत् कम्पनीलगायतका सूचीकृत कम्पनीको मर्जर र प्राप्तिका कारण यो संख्या घट्दो क्रममा छ । यो अवस्थामा १०० ओटा सूचीकृत कम्पनी लिएर दुई ओटा स्टक एक्सचेञ्ज चल्न सक्छ ? भन्ने प्रश्न पनि उसले गरेको छ ।
एकीकृत हुनुपर्ने पूँजीबजार खण्डिकरणतर्फ जाँदा वित्तीय औजारहरूको मूल्य निर्धारण, जोखिम व्यवस्थापन,पूँजी परिचालन, संस्थागत सुशासन जस्ता स्टक एक्सचेञ्ज सञ्चालनका मूल उद्धेष्यमा असर पर्ने धारणा युनियनले राखेको छ ।
नेप्सेलाई टाट पल्टाएर कवाडी सामग्रीको मूल्यमा विलय गराउने स्वार्थी समूहको उद्धेष्य रहेको आरोप युनियनको छ । नियामक निकायका केहि वरिष्ट पात्रहरु व्यापारिहरूको प्रभावमा परेर नेप्सेको अर्बौंको सम्पत्तिलाई कौडीको भाउमा सकाउने बाटोमा हिडेको आरोपसमेत युनियनको छ ।
नेप्सेको पुन: संरचना गर्नुपर्नेभन्दै युनियनले यसका लागि रणनैतिक विदेशी साझेदार ल्याउनुपर्ने जसले गर्दा अन्तरराष्ट्रिय पूँजी, प्रविधि, नविन व्यवस्थापन वित्रिने विश्वास लिएको छ ।
धितोपत्र सम्ब्न्धी उपकरणहरूको विविधिकरण गर्ने, डेरिभेटिभ साथै कमोडिटिज मार्केटको विकास गर्ने, एसएमई कम्पनीको समेत सूचीकरण गर्नुपर्ने, बैंकल्पिक लगानीकोषहरू जस्तै प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटल र हेज फण्डको विकास गर्ने तथा गैरआवासीय नेपाली र विदेशी संस्थागत लगानीकर्ता भित्र्याउने अबको बाटोलाई समेत युनियनले विज्ञप्तीमा उल्लेख गरेको छ ।