एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो फ्लोरिडास्थित निवासमा संघीय जाँच ब्युरो (एफबिआई)ले छापा मारेको बताएका छन् ।
ट्रम्पले आफ्नो बयानमा भनेका छन् कि ठूलो संख्यामा एफबिआई एजेन्टहरूले उनको घरलाई नियन्त्रणमा लिएका छन् ।
सिबिएस न्यूजको रिपोर्ट अनुसार एफबिआईको यो छापा ट्रम्पले राष्ट्रपति हुँदा सरकारी कागजातहरू कसरी ह्यान्डल गरे भन्ने अनुसन्धानसँग सम्बन्धित छ ।
ट्रम्पले गत वर्ष अमेरिकी क्यापिटलमा भएको हिंसाको संसदीय छानबिनको पनि सामना गरिरहेका छन् ।
सिएनएनको रिपोर्टका अनुसार सोमबार एफबिआईले ट्रम्पको फ्लोरिडास्थित निवासमा छापा मार्दा पूर्वअमेरिकी राष्ट्रपति न्युयोर्कको ट्रम्प टावरमा थिए ।
ट्रम्पले आफ्नो वक्तव्यको सुरुमै यो आफ्नो देशका लागि कठिन समय भएको बताएका छन्।
ट्रम्पले भने, ‘मैले अनुसन्धानमा आवश्यक सबै सरकारी निकायलाई सहयोग गरेको छु । यस्तो अवस्थामा मेरो घरमा अघोषित छापा मार्नुको कुनै अर्थ थिएन । यो छापा मा एक प्रक्रियागत त्रुटि छ । म २०२४ को राष्ट्रपति चुनाव लड्न नसकूँ भनेर न्यायपालिकालाई आफ्नै तरिकाले प्रभावित गरिरहेको छ।
‘यस्तो कारबाहीले अमेरिका तेस्रो विश्वको देश बन्न सक्छ । अमेरिका भ्रष्ट मुलुकजस्तै भएकोमा दुःख लागेको छ । अमेरिकाको यस्तो छवि पहिले कहिल्यै थिएन’, उनले थपे ।
सिबिएस न्युजका अनुसार एफबिआईको छापा अमेरिकाको राष्ट्रिय अभिलेखागरसँग सम्बन्धित छ ।
राष्ट्रिय अभिलेखागार एक अमेरिकी सरकारी निकाय हो। यस निकायले राष्ट्रपतिबाट अभिलेख राख्छ । फेब्रुअरीमा, अमेरिकी न्याय विभागले सरकारी कागजातहरू ह्यान्डल गरेकोमा ट्रम्प विरुद्ध छानबिन गर्न आह्वान गरेको थियो ।
नियम अनुसार, अमेरिकाका सबै राष्ट्रपतिहरूले सबै पत्रहरू, सबै काम–सम्बन्धित कागजातहरू र इमेलहरू राष्ट्रिय अभिलेखमा बुझाउनु पर्छ । तर अधिकारीहरूले ट्रम्पले धेरै कागजातहरू नष्ट गरेको बताएका छन् ।