मर्जर तथा एक्विजिसनमा जाने वित्तीय संस्थाको सेयर कारोबार रोक्का गर्ने व्यवस्था राष्ट्र बैंकले खारेज गर्ने
काठमाडौँ : मर्जर तथा एक्विजिसनमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्ने/नरोक्ने निर्णय गर्ने जिम्मा धितोपत्र बोर्डले पाएको छ । मर्जर प्रक्रियामा गएका कम्पनीको सेयर रोक्का गर्नेसम्बन्धी व्यवस्था राष्ट्र बैंकले खारेज गरेपछि अब त्यो निर्णयको अधिकार धितोपत्र बोर्डमा स्थानान्तरण हुने भएको हो ।
हाल मर्जर तथा एक्विजिसनमा गएको बैंक तथा वित्तीय संस्थाको हकमा उक्त प्रक्रिया पूरा नभएसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दोस्रो बजारमा सेयर कारोबार रोक्का राख्दै आएको छ । ‘बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, ०७३’ को व्यवस्थाअनुसार नेप्सेले मर्जरमा जाने वित्तीय संस्थाको कारोबार रोक्दै आएको हो ।
‘मर्जर तथा एक्विजिसनका लागि राष्ट्र बैंकमा आवेदन दिँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निवेदनसाथ साधारणसभा तथा सञ्चालक समितिको निर्णय, प्रारम्भिक समझदारीपत्रको प्रतिलिपि र नेपाल धितोपत्र विनिमय बजार लिमिटेडबाट गाभ्ने, गाभिने वा लक्षित संस्थाको सेयर कारोबार रोक्का गरिएको पत्र संलग्न गर्नुपर्नेछ,’ मर्जरसम्बन्धी विनियमावलीमा भनिएको छ, ‘गाभ्ने, गाभिने वा प्राप्ति (एक्विजिसन) कार्य सम्पन्न भएपछि रोक्का रहेको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।’
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले विनियमावलीको उक्त व्यवस्था खारेज गर्ने घोषणा गरेको छ । उक्त व्यवस्था खारेज गरेपछि मर्जर तथा एक्विजिसनमा जाने वित्तीय संस्थाको सेयर कारोबार रोक्का गर्ने/नगर्ने सम्बन्धमा अन्योल सिर्जना भएको छ । ‘बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइनेछ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ ।
विद्यमान व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले मर्जर तथा एक्विजिसनका लागि समझदारीपत्रमा हस्ताक्षर (एमओयू) गरेपछि उक्त प्रक्रियामा सामेल हुने कम्पनीका सेयर कारोबार रोक्का गर्न नेप्सेमा आवेदन दिनुपर्छ । कम्पनीको पत्रका आधारमा नेप्सेले सेयर कारोबार रोक्का गरिदिन्छ । मर्जर प्रक्रिया पूरा भएपछि वा अवरुद्ध भएपछि सेयर कारोबार खुला गर्न नेप्सेलाई नेपाल राष्ट्र बैंककै पत्र चाहिन्छ । कम्पनीहरूले सेयर खुला गर्ने सम्बन्धमा राष्ट्र बैंकको पत्र लिएपछि मात्र नेप्सेले ती कम्पनीको सेयर कारोबार खुला गर्दै आएको छ ।
बैंक तथा वित्तीय संस्थाबाहेक अरू क्षेत्रका (जलविद्युत्, बिमा, लगानी, उत्पादनमूलक आदि) सूचीकृत कम्पनीहरूबीचको मर्जर तथा एक्विजिसनको हकमा दोस्रो बजारमा सेयर रोक्का गर्नुपर्ने प्रावधान कतै छैन । यद्यपि नेप्सेले बैंक तथा वित्तीय संस्थाकै जस्तै गरी हाल मर्जरमा जाने बिमा कम्पनीहरूको सेयर कारोबार रोक्का गर्दै आएको छ । जबकि अन्य क्षेत्रका जस्तै मर्जरमा जाने बिमा कम्पनीहरूको सेयर कारोबार दोस्रो बजारमा रोक्नुपर्ने कुनै कानुनी व्यवस्था कहीं छैन ।
अब राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावलीको सेयर कारोबार रोक्का राख्नेसम्बन्धी व्यवस्था खारेज गरेपछि यो सम्बन्धमा कतै पनि कानुनी व्यवस्था रहनेछैन । यस्तो अवस्थामा मर्जरमा जाने सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का गर्ने वा नगर्ने जिम्मा पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको कार्यक्षेत्रभित्र आएको छ । मर्जर तथा एक्विजिसन प्रक्रियामा सामेल भएकै कारण लामो समयसम्म दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएकाले लगानीकर्ता सेयर किनबेचबाट वञ्चित हुँदै आएका छन् ।
पछिल्लो उदाहरणका रूपमा हिमालयन र इन्भेस्टमेन्ट बैंकको सेयर रोक्कालाई लिन सकिन्छ । यसअघि यी कम्पनीबीच मर्जरका लागि एमओयू भएपछि करिब १ वर्ष सेयर कारोबार रोक्का भएको थियो । सम्झौता भएको करिब नौ महिनापछि मर्जर प्रक्रिया अवरुद्ध भयो । त्यसपछि राष्ट्र बैंकले ती कम्पनीहरूको साधारण सेयर मात्र खुला गर्न निर्देशन दियो । संस्थापक सेयर कारोबार बन्द नै थियो । केही महिनाअघि हिमालयन बैंकले सिभिल र इन्भेस्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जरका लागि सम्झौता गरेका छन् । उक्त सम्झौता पछि पुनः ती सबै कम्पनीका सेयर कारोबार रोक्का गरिएको छ । यसरी वर्षौंसम्म लगानीकर्ता सेयर किनबेचबाट वञ्चित भएको भन्दै उक्त व्यवस्था परिमार्जन गर्न सेयर लगानीकर्ताका संघसंस्थाहरूले राष्ट्र बैंकसमक्ष आग्रह गर्दै आएका थिए । उनीहरूकै आग्रहमा राष्ट्र बैंकले सेयर रोक्कासम्बन्धी विद्यमान व्यवस्था खारेज गर्ने घोषणा गरेको हो ।
हाल धितोपत्र बोर्ड र नेप्सेसँग सम्बद्ध कुनै पनि ऐन, नियम तथा कानुनमा मर्जरमा गएका कम्पनीहरूको सेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था छैन । राष्ट्र बैंकले उक्त व्यवस्था खारेज गरेपछि पुँजीबजारको नियामक निकायले कानुनी व्यवस्था गर्नुपर्ने नेपाल स्टक एक्सचेञ्जका प्रबन्धक निरञ्जन फुयालले बताए । ‘हाल नेप्सेले बैंक तथा वित्तीय संस्थाको हकमा मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावलीको व्यवस्थाबमोजिम र बिमा कम्पनीहरूको हकमा कानुनबिनै रोक्का राख्दै आएको छ,’ उनले भने, ‘मर्जरका नाममा लामो समय सेयर कारोबार रोक्का हुनु राम्रो होइन ।’
मर्जरमा जाने कम्पनीको हकमा २/४ दिन सेयर कारोबार रोक्का (सेयर मिलान गर्ने समय) गर्नुपरेपछि लामो समयसम्म रोक्का गर्नुको कुनै विशेष कारण नरहेको उनले बताए । ‘मर्जर प्रक्रिया पूरा वा अवरुद्ध नभएसम्म कारोबार रोक्का गर्नुपर्ने हालको व्यवस्थाको खासै औचित्य छैन,’ उनले थपे, ‘सेयर मिलान (रूपान्तरण) का लागि कति दिन चाहिन्छ त्यति रोक्ने बाँकी दिन खुला राख्न सकिन्छ ।’ मैद्रिक नीतिमा घोषित व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले निर्देशन जारी गर्नुपर्छ । सोहीअनुसार नै कार्यान्वयनका लागि निर्देशन जारी भए सम्भवतः साउन दोस्रो सातादेखि सेयर रोक्कासम्बन्धी व्यवस्था खारेज हुने समाचार आजको कान्तिपुरले लेखेको छ ।