ई–आर्थिक, काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका तत्कालिन कार्यकारी अध्यक्ष इच्छाराज तामाङलाई छुटाउन न्यायधीशलाई दुई करोड घुस प्रस्ताव गर्ने अधिवक्ता रुद्र पोखरेललाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरिएको छ । नेपाल बार काउन्सिलको कारबाही छल्न सम्पर्कविहीन भएका पोखरेललाई यस्तो सूचना जारी गरिएको हो ।
परिषद्ले पोखरेललाई उपस्थित हुन घर र ल फर्ममा म्याद पठाए पनि कार्यालय नै छाडेर सम्पर्कमा नरहेका पोखरेललाई कारबाही नगर्नुपर्ने कारण भए सात दिनभित्र पेस गर्न भनिएको हो ।
केही समयअघि तामाङलाई छुटाउन काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई दुई करोड घुस दिने प्रस्तावको अडियो सार्वजनिक भएको थियो ।
तामाङलाई दश करोड धरौटीमा छाडे दुई करोड घुस दिने प्रस्ताव गरेको अडियो सार्वजनिक भएपनि न्यायाधीश कोइरालामाथि छानबिन भइरहेको छ भने अधिवक्ता पोखरेललाई पनि बार काउन्सिलले कारबाहीको दायरमा ल्याउन खोजेको छ ।
काउन्सिलले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘तपाईं रुद्रप्रसाद पोख्रेलले कानुन व्यवसायको सिलसिलामा कार्य गर्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसमेत उपर काठमाडौँ जिल्ला अदालतमा चलेको ठगी मुद्दामा निजलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरी तपाईं र न्यायाधीशबीच फोन वार्ताको सन्दर्भमा परेको उजूरीबाट तपाईंले कानुन व्यवसायीको आचारसंहिता,२०५१ को विपरीतको कार्य गर्नु भएकोले कारबाहीको लागि प्रतिवेदन उजूरी प्राप्त भएकोमा सो सम्बन्धमा तपाईंलाई कारबाही हुनु पर्ने हो होइन ? अनुशासन समिति (कार्य व्यवस्था) नियमावली, २०५८ को नियम ६(३) बमोजिम यो सूचना प्रकाशित गरिएको छ। आजका मितिले मितिले ७ दिन भित्र जवाफ पेस गर्नुहोला, अन्यथा कानुन बमोजिम भई जाने व्यहोरा सूचित गरिन्छ।’