२०८३ साउन ९ शनिबार

५० अर्बभन्दा बढीले घट्यो कुल बजार पूँजीकरण : कारोबार रकम भने ४ अर्बभन्दा बढीले वृद्धि

ई आर्थिक    शनिबार, असार २५ २०७९
9.1K
Shares
५० अर्बभन्दा बढीले घट्यो कुल बजार पूँजीकरण : कारोबार रकम भने ४ अर्बभन्दा बढीले वृद्धि

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण रू. ५० अर्ब ५३ करोड १५ लाखले घटेको छ ।

गत साताको अन्तिम कारोबार दिन रू. २८ खर्ब ९२ अर्ब ५१ करोड ६४ लाख रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन रू. २८ खर्ब ४१ अर्ब ९८ करोड ४९ लाख कायम भएको छ ।

यो साता नेप्से परिसूचक गत साताको तुलनामा ३६ दशमलव १५ अंकले घटेको छ । गत साता २ हजार २८ दशमलव ७७ विन्दुमा पुगेको नेप्से परिसूचक यो साता १ हजार ९९२ दशमलव ६२ विन्दुमा झरेको हो । साताको ६ कारोबार दिनमा नेप्से परिसूचक चार कारोबार दिन घटेको छ भने दुई कारोबार दिन मात्र बढेको छ ।

साताको पहिलो कारोबार दिन ५७ दशमलव ६५ अंकले बढेको नेप्से दोस्रो दिन ९ दशमलव ७५ अंकले र तेस्रो दिन ४६ दशमलव शून्य ८ अंकले घटेको थियो । त्यस्तै चौथो दिन १३ दशमलव ३३ अंकले बढेको नेप्से पाँचौ दिन १६ दशमलव ६० अंक र छैठौं दिन ३४ दशमलव ७० अंकले घटेको हो ।

नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ७३ अंकले घटेको छ । गत साता ३८८ दशमलव ६२ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ३७९ दशमलव ८९ विन्दुमा झरेको हो ।

पछिल्लो समय बजार विकार र विस्तारका लागि नियामक निकायहरूले सक्रियता देखाएका छन् । चालू आर्थिक वर्ष सकिनै लाग्दा नियामक निकाय नेपाल धितोपत्र बोर्ड बजार सुधारका लागि आवश्यक काम गर्न सक्रिय बनेको छ ।

यसै सातादेखि नेप्सेको टिएमएस प्रणालीबाट खरीदतर्फको एओएन सुविधालाई हटाएको धितोपत्र बोर्डले देशव्यापी रुपमा धितोपत्रको पहुँच विस्तार गर्ने गरी नयाँ ब्रोकर लाईसेन्स वितरणको तयारी गरेको छ । धितोपत्र बोर्डले विद्यमान धितोपत्र व्यवसायी नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गरी नयाँ ब्रोकर लाईसेन्स वितरणको तयारी गरेको हो ।

यो साता नेप्से परिसूचक र कुल बजार पूँजीकरण घटेपनि कारोबार रकम र कित्ता भने गत साताको भन्दा बढी छ । गत साता रू. १० अर्ब ६४ करोड ८५ लाख ६९ हजारभन्दा बढीको ३ करोड ३ लाख ४६ हजार ५३९ कित्ता धितोपत्र कारोबार भएकोमा यो साता रू. १४ अर्ब ९५ करोड १५ लाख ४४ हजार बराबरको ३ करोड ९८ लाख ६० हजार ५८३ कित्ता धितोपत्र खरीदविक्री भएको छ ।

यो साता व्यापारिक समूहको उपसूचक ७ प्रतिशतले वृद्धि

यो साता कारोबारमा आएका १३ ओटा समूहगत उपसूचकहरूमध्ये व्यापारिक र जलविद्युत् समूहको मात्र उपसूचक बढेको छ । गत साताको तुलनामा यो साता व्यापारिक समूहको उपसूचक सर्वाधिक ७ प्रतिशत बढेको हो । जलविद्युत समूहको उपसूचक भने यो साता शून्य दशमलव ९९ प्रतिशत बढेको हो ।

यो साता होटल तथा पर्यटन समूहको उपसूचक भने सर्वाधिक ५ दशमलव २१ प्रतिशतले घटेको छ । त्यस्तै अन्य समूहको ३ प्रतिशत, विकास बैंक समूहको २ दशमलव ९७ प्रतिशत, लघुवित्तको २ दशमलव ८४ प्रतिशत, लगानीको २ दशमलव ४५ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव शून्य २ प्रतिशतले घटेको छ ।

त्यसैगरी बैंकिङको १ दशमलव ९५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ६५ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ६४ प्रतिशत, वित्त समूहको शून्य दशमलव ६४ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव २९ प्रतिशतले उपसूचक घटेको समाचार आर्थिक अभियानले लेखेका छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij