२०८३ साउन १० आइतबार

व्यवसायीसमेत रहेका समाजवादीका धनराज आचार्य बने पोखरा महानगरको १५ औं मेयर, को हुन धनराज आचार्य ?

ई आर्थिक    बुधबार, जेष्ठ ११ २०७९
3.2K
Shares
व्यवसायीसमेत रहेका समाजवादीका धनराज आचार्य  बने पोखरा महानगरको १५ औं मेयर, को हुन धनराज आचार्य ?

ई–आर्थिक, काठमाडौं । पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार व्यवसायीसमेत रहेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि सुरु भएको मतगणनाको आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पराजित गरेका हुन् ।

आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी थापाले ५२ हजार ८४८ मत ल्याए ।

यसैगरी, प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ६७४, स्वतन्त्रका खडकराज पौडेलले तीन हजार ३०, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमप्रसाद गुरुङले ५४६ र विवेकशील साझाका सुशीला केसीले ३३८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् ।

उपप्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै एमालेकी गुरुङ दोस्रो कार्यकालका लागि विजयी भएकी हुन् ।

गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उनका निकटतम् प्रत्यासी रानाभाटले ५६ हजार ६६३ मत ल्याइन् ।

उपप्रमुखमा राप्रपाका रञ्जनाकुमारी सेन पौडेलले पाँच हजार ६९९, विवेकशील साझाका माधव भण्डारीले २६४ र आमुल परिवर्तन मसिया पार्टीका पदमबहादुर गुरुङले १३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पोखरा महानगरका ३३ वडामध्ये कांग्रेसले २३, एमालेले नौ र वडा नं २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी भएका छन् ।

को हुन धनराज आचार्य ?

धनराज आचार्यको जन्म २०२६ साल चैत १७ मा पोखरा ३३, भरतपोखरीमा भएको हो । बाबु ऋतुराज र आमा जमुनादेवीका सुपुत्र उनका श्रीमती पुष्पकुमारी र छोरा उज्ज्वल र छोरी आश्मा छन् । राजनीतिसँगै सामाजिक एवं व्यवसायमा सफल मानिने आचार्यले एमबिए, एमएड पूरा गरेका छन् । उनको छवि स्पष्ट वक्ता हो ।

उनको राजनीतिक करिअर २०३९ सालमा अनेरास्ववियुको सदस्यता प्राप्तिसँगै सुरु भयो । त्यसपछि अनेरास्ववियुको प्रारम्भिक कमिटी (विद्यालय) मा २०४३ सालमा रहेका उनी अर्को वर्ष पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियु प्रारम्भिक कमिटीमा आबद्ध रहे । २०४५ सालमा अनेरास्ववियु जिल्ला कमिटी कास्की सदस्य, ४६ सालमा सचिव, ४७ सालमा अध्यक्ष बने । साथै २०४८ सालमा अनेरास्ववियु गण्डकी अञ्चल कमिटी अध्यक्ष निर्वाचित उनी अर्को वर्ष केन्द्रीय सदस्य चुनिए । २०५० देखि ५४ सालसम्म पश्चिमाञ्चल प्रमुखको जिम्मेवारी निर्वाह गरे भने २०५४ देखि ५८ सम्म केन्द्रीय सचिवालय सदस्य बने ।

स्ववियु पृथ्वीनारायण क्याम्पसमा उनी २०४९ देखि ०५१ सम्म कोषाध्यक्ष, २०५१ देखि ०५३ सम्म सभापति बने । सभापतिको भूमिकामा रहँदा उनी स्ववियू काउन्सिल महासचिव थिए ।

१५ वर्षको उमेरमै उनी नेकपा माले युवा लिगमा संगठित रहे । २०४४ मा नेकपा माले पार्टी सक्रिय दलमा आबद्ध बने । सोही वर्ष नेकपा माले उम्मेदवार पार्टी सदस्य, नेकपा माले विद्यार्थी इकालका कमिटी (जेल विभाग), २०४५ सालमा राष्ट्रिय पञ्चायतका सदस्य रही प्रत्याह्वान विरुद्ध आन्दोलनका क्रममा घाइते र गिरफ्तार गरिए । २०४७ सालमा नेकपा माले संगठित सदस्यता प्राप्त गरेका थिए । २०४६ देखि ०५१ सम्म पार्टी विद्यार्थी इलाका कमिटी सदस्य÷सचिव, ०५२ मा नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य, ०५४ मा नेकपा माले कास्की जिल्ला कमिटी सचिवालय सदस्य चुनिए ।

२०६० सालमा नेकपा एमाले कास्की उद्योग व्यवसाय विभाग प्रमुख बनेका आचार्य २०६४ देखि ०६९ सम्म फ्रयाक्सन सचिवको जिम्मेवारी पाए । २०६९ देखि ०७४ सम्म नेपाल राष्ट्रिय वाणिज्य संघ अधयक्ष, २०७१ देखि ०७६ सम्म नेपाल उद्योग तथा व्यवसायी महासंघ स्थायी कमिटी सदस्य, २०७१ देखि ०७५ सम्म नेकपा एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य, २०७५ देखि ०७८ सम्म नेकपा उद्योग तथा व्यवसाय विभाग सदस्य बने । २०७८ मा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष (समानान्तर कमिटी) मा रहे ।

एमाले फुटपछि उनी गतदेखि नेकपा (एकीकृत समाजवादी) कास्की जिल्ला कमिटीको अध्यक्षको जिम्मेवारी सम्हाल्नुका साथै केन्द्रीय सदस्यमा रहे । २०४० सालदेखि हालसम्मका सम्पूर्ण आन्दोलन, निर्वाचन तथा महत्वपूर्ण कार्यका सक्रिय रहँदै आए ।

उनको व्यावसायिक संलग्नता पाठ्यपुस्तक प्रकाशन गृह, शैक्षिक सामग्री, उद्योग, स्कुल, कलेज संचालन, रसायनिक मल उद्योग, हाइड्रो, कृषि, पर्यटन, बैंकिङ, हस्पिटालिटी लगायत २ दर्जन प्रतिष्ठानमा आबद्धता छ ।

सन् २०१७÷१८ मा उनी लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ का गभर्नर थिए । स्व. रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका महासचिव उनी लायन्समा पढाऔं अभियान नेपालका सूत्रधार हुन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघमा महासचिव हुँदै अध्यक्ष बनेका उनी पोखरा उद्योग वाणिज्य संघमा कार्यकारिणी सदस्य थिए । पोखरा महानगरपालिकामा २०७५ सालमा उनी शिक्षा विज्ञ, उच्चस्तरीय पुस्तक नीति मस्यौदा समिति–२०५८ मा सदस्य (विज्ञ) थिए ।

विभिन्न ४५ मुलुकको अध्ययन भ्रमण गरेका उनले विभिन्न विधा तथा विषयका सय बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिममा भाग लिएका छन् । राजनीतिमा कम र व्यवसायमा बढी लागेका आचार्यले ठूलो आर्थिक फड्को मारेका छन् । स्टेसनरी पसलबाट उनले आफ्नो उद्यम सुरु गरेकाका ५३ वर्षीय आचार्य उद्योग–व्यवसायमा सक्रिय रहेकै बेला एमालेनिकट व्यावसायिक संघसंस्थामा सधैं क्रियाशील भने रहीरहे । आज पोखराको १५ औं मेयर बन्ने सौभाग्य पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij