ई–आर्थिक, काठमाडौं । स्थानीय तहमा भएको मतदानको परिणाम सार्वजानिक हुने क्रम अन्तिम अन्तिम हुँदैछ । अत्याधिक चासोका साथ हेरिएको चितवन, पोखरा र बीरगञ्ज महानगरपालिकाको निर्वाचनको परिणाम सार्वजानिक भएको छ । पछिल्लो समय सार्वजानिक भएको तीन वटै महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट बनेका उम्मेद्वारहरुले जित हासिल गरेका छन् ।
प्राप्त समाचार अनुसार वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी विजयी भएको छ । सत्ता गठबन्धनको तर्फबाट महानगरको मेयरमा जसपाका उमेदवार राजेशमान सिंह ४६ हजार २१५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार विजयकुमार सरावगीले २३ हजार ६७१ मत ल्याएका छन् । मेयरमा सिंहले सरावगीलाई २२ हजार ५४४ मत अन्तरले पराजित गरेका हुन् ।
राप्रपाका मेयर उमेदवार गिरिश गिरीले ३ हजार ३१३ मत प्राप्त गरे । यो निर्वाचनमा एमालेले लोसपासँग गठबन्धन गरेको थियो । ०७४ सालको निर्वाचनमा सरावगी तत्कालीन सघिय समाजवादी फोरम हालको जनता समाजवादी पार्टीबाट मेयरमा जितेका थिए । अहिले एमालेबाट लडेका उनी सोही पार्टीका उमेदवारसँग पराजित भएका हुन् ।
भरतपुर महानगरमा रेणु दाहाल विजयी
यसैबीच चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।
पछिल्लो मतपरीणामअनुसार करिब २ हजार मतगणना हुन बाँकी छँदा रेणुले प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग १२ हजार १४० मतान्तर कायम गरेकी हुन् । दाहालले ५१ हजार ११२ मत पाउँदा सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् ।
अन्तिम परीणाम आउन बाँकी रहँदै उनी निर्वाचित भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले सबै मतगणना भइसकेपछि नतिजा घोषणा गर्नेछ ।
उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले जित सुनिश्चित गरेका छन् । अधिकारीले ५१ हजार ९०३ मत पाउँदा प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाएकी छन् ।
केही स्थानमा अन्तिम मतगणना भइरहेको छ भने केही पालिकामा मत गणना जारी रहेको छ । पछिल्लो प्राप्त जानकारी अनुसार उम्मेद्वारले जितेका र अग्रता लिएको अवस्था यस्तो रहेको छ ।
पोखरा महानगरपालिकामा आचार्य जित नजिक, ५ हजार मत गन्न बाँकी रहँदा धनराज ४९ सय मतले अगाडि
यसैबीच पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्य बन्ने निश्चित जस्तै भएको छ । हालसम्म गणना भएको १ लाख ३८ हजार २ सय ११ मत गन्दा समाजवादीका आचार्यले ५६ हजार ४ सय ७१ मत पाए पछि उनी जित नजिक पुगेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ५१ हजार ५ सय ८५ मत मात्रै पाए ।
उनले अब ५ हजार मत गन्न बाँकी रहँदा चार हजार ८८६ मतले अग्रता कायम गर्दै जित नजिक पुगेका हुन् ।
उपमेयरमा भने एमालेकी मन्जु गुरुङ जीत नजिक पुगेकी छिन् । उनले कांग्रेसकी कोपीला रानाभाटलाई ४ हजार ३५ मत अन्तरले पछि पारेकी छिन् । गुरुङले ५८ हजार ५ सय ८२ मत पाउँदा रानाभाटको पोल्टामा ५४ हजार ५ सय ४७ मत परेको छ ।
त्यस्तै केही स्थानमा अन्तिम मतगणना भइरहेको छ भने केही पालिकामा मत गणना जारी रहेको छ । पछिल्लो प्राप्त जानकारी अनुसार उम्मेद्वारले जितेका र अग्रता लिएको अवस्था यस्तो रहेको छ ।

