ई–आर्थिक, काठमाडौं । फ्रान्समा एक पर्यटक विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको विदेशी सञ्चारमाध्यमले जनाएका छन् । शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि उच्च पहाडमा दुर्घटना भएको थियो । विमानस्थलबाट दुर्घटनाग्रस्त क्षेत्र आधा घन्टाको दूरीमा पर्छ ।
विमानको जलेको भग्नावशेषमा चार वयस्क र एक बच्चाको शव फेला परेको दुर्घटनाका प्रत्यक्षदर्शीहरूले आपतकालीन सेवाहरूलाई जानकारी दिएका छन् ।
आगो निभाउन करिब ६० अग्नि नियन्त्रक परिचालन गरिएको थियो । दुर्घटनाबारे छानबिन सुरु हुने भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।