ई–आर्थिक, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार तथा उद्योगी गोपाल हमालले ५०० मत सहित अग्रता कायम गरेका छन् ।
हालसम्म गणना भएको ३१ सय ५३ मतमा हमालले १४ सय ७२, नेपाली कांग्रेसका नृप बहादुर वडले ७६३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार रणबहादुर चन्दले १५४ मत प्राप्त गरेका छन्।
यता उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ७३८ मत प्राप्त गरेकी छन् । एमालेकी कन्दकला रानाले ४११ मत प्राप्त गरेकी छन् ।
धनगढी सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर हो ।
हमालले मेयरका लागि राज्यबाट दिने सेवा सुविधासमेत नलिने गरी उम्मेदवारी दिने घोषणा गरेका छन् । हमालले धनगढीमा गरिवी, असहायलाई लक्षित गरी कपडा बैंक र निःशुल्क शव वाहन सञ्चालनमा ल्याएका छन् । यसअघि विवेकशील साझा पार्टीका प्रदेश संयोजक रहेका उनी सो पार्टी परित्याग गर्दै मेयरका लागि उम्मेदवारी घोषणा गरेका थिए ।
हमालले कैलाली उद्योग वाणिज्य संघको नेतृत्व गर्दा आफ्नो कार्यकाल (२०६३–६६)मा संघलाई देशकै उत्कृष्ट शाखा बनाएका थिए । दिनेश ग्रुपका नामबाट सुदूरपश्चिममा सञ्चालित उनका व्यापार व्यवसायमा ६ सय बढीले रोजगारी पाएका छन् ।
सुदूरपश्चिमलाई सम्भावनाको क्षेत्रका रूपमा परिचित गराउन उनले सुन्दर सुदूरपश्चिम अभियान थालेका थिए ।