२०८३ साउन १२ मंगलबार

न्यादी जलविद्युत आयोजनाबाट ३० मेगावाट बिजुली उत्पादन सुरू

ई आर्थिक    शनिबार, बैशाख २४ २०७९
6.8K
Shares
न्यादी जलविद्युत आयोजनाबाट ३० मेगावाट बिजुली उत्पादन सुरू

ई–आर्थिक, लमजुङ । लमजुङको ङादीखोलामा निर्माण सम्पन्न भएको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ। परीक्षण उत्पादन गरिसकेको आयोजनाले वैशाख अन्तिम साताबाट व्यावसायिक उत्पादन गर्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । उनले भने परीक्षण उत्पादन सकिएपछि वैशाख अन्तिम साताबाट प्राधिकरणलाई बिजुली बिक्री गरिनेछ ।

आयोजनाको बिजुली २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेसनमा जोड्ने गरी प्राधिकरणसँग सम्झौता भएको थियो । बुटवल पावर कम्पनी ९बीपीसी० को सहायक न्यादी हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाले खुदी सबस्टेसनको ६ किलोमिटर प्रसारण लाइन आफैँ बनाएको छ ।

मर्स्याङ्दी गाउँपालिका–३ खुदी सबस्टेसनबाट मर्स्याङ्दी–८ लाम्पाटासम्म थप ३ किमी प्रसारण लाइन निर्माण गरेर माथिल्लो मर्स्याङ्दी ‘ए’ ले बनाएको लाम्पाटास्थित १३२ केभीको चौथो टावरमा बिजुली जोडिएको छ ।

आयोजनाका अनुसार करिब दुई महिना अगावै आयोजना बिजुली उत्पादन गर्न तयार भएको थियो। वैशाख ९ को राति ८ बजेदेखि परीक्षण उत्पादन गरिरहेको आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई अहिले १० मेगावाट विद्युत् निःशुल्क दिइरहेको छ।

वैशाख ४ देखि ट्रान्समिसन लाइनको परीक्षण प्रसारण गरेकामा सफल भएपछि आयोजनाले परीक्षण उत्पादन थालेको हो। परीक्षण उत्पादनका क्रममा १५ दिन आयोजनाले प्राधिकरणलाई निःशुल्क बिजुली दिनेछ ।

चिनियाँ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले आयोजना बनाएको हो। मर्स्याङ्दी ६ नाइँचे गाउँमाथि ङादी नदीमा ड्याम बनाएर ठूलीबेंसीदेखि ताराचोक जाने सडकनजिकै ङादी नदीछेउमा निर्मित विद्युत्गृहमा पानी खसालेर बिजुली उत्पादन गरिएको छ। करिब ४ अर्ब ३८ करोडमा सक्ने गरी डिजाइन गरिएको आयोजनामा ब्याजसहित ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ खर्च भएको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij