मिलन खड्का, मोरङ : विराटनगर विमानस्थल जाने ४ सय १५ मिटर लम्बाईको सडक सौन्दर्यकरण गरिने भएको छ । सो सडकको सौन्दर्यकरणका क्रममा विमानस्थल सडकको शिलान्यास गरिएको छ । विराटनगर–४ स्थित विमानस्थल जाने ४ सय १५ मिटर लम्बाईको सडक सौन्दर्यकरण गरिने मेयर भीम पराजुलीले जानकारी दिए ।
महानगरलाई स्वच्छ स्वस्थ्य र सुन्दर बनाउने परिकल्पनासाथ विमानस्थल रोड, बजारतर्फ हिमालय रोडलाई प्राथमिकतामा राखेर काम सुरु गरिएको बताए।

विमानस्थलतर्फको रोडको काम ०७९ को जेठसम्म सक्ने गरी काम सुरु गरिएको बताएका मेयर पराजुलीले पर्यटक तथा नगरवासीलाई बेलुकाको समय घुम्न उपयुक्त र रमणीय हुने जानकारी दिए।
मेयर पराजुली र उपभोक्ता समितिका अध्यक्ष पुण्यप्रसाद भट्टराईले आइतबार संयुक्त रुपमा विमानस्थल सडक सौन्दर्यकरणको शिलान्यास गरेका थिए।
उपभोक्ता समितिका अध्यक्ष भट्टराईका अनुसार शिलान्याससँगै निर्माण सुरु भइसकेको छ।
स्थानीय कृष्ण गृह एन्ड इन्जिनियरिङसँग निर्माणका लागि सम्झौता भएको बताएका अध्यक्ष भट्टराईका अनुसार सडकमा ५ दशमलव १७ मिटर अग्लो मेटल टनेल, लाइटिङ, रङरोगन, सडक चिह्नलगायत काम हुनेछ। उनका अनुसार यसको निर्माणपछि राति यस क्षेत्रले फरक वातावरण बनाउनेछ।

मुख्य राजमार्गबाट विमानस्थलद्वारसम्मको करिब ४ सय १५ मिटर लम्बाई सडक क्षेत्रमा निर्माण हुने सौन्दर्यकरणले आकर्षणको विन्दु हुने महानगरको बुझाइ छ।
यसको निर्माणका लागि महानगरले ६७ लाख २७ हजार रुपैयाँ अनुदान र २८ लाख ८३ हजार रुपैयाँ जनसहभागिता गरी ९६ लाख ११ हजार रुपैयाँ खर्च हुने जनाएको छ । सो सडक क्षेत्रमा दुवैतर्फ गरी २७ वटा होटल तथा रेस्टुरेन्ट छन् ।