ई–आर्थिक, काठमाडौं । नेपालको पहिलो जलविद्युत फर्पिङ्कसहितका आयोजनाहरुमा जलविद्युत पर्यटनलाई विकासलाई अघि बढाउन निजी उर्जा उत्पादकहरुले पहल सुरु गरेका छन् ।
छिमेकी राष्ट्र चीनको थ्री गर्जेज जलविद्युत आयोजनामा बार्षिक ४५ लाख भित्र्याईरहेपनि नेपालमा सम्भावना भएर पनि जलविद्युत पर्यटनका लागि सरकारले उचित पहल नगरिरहेको बेला निजी उत्पादकहरुले यस्तो पहल सुरु गरेका हुन् ।
करिब ८३ हजार मेगावाटसम्म जलविद्यतको सम्भावना भएको नेपालमा त्यही जलविद्युत आयोजनाहरुबाट पर्यटन प्रबद्र्धन गर्न सकिने अवधारण निजी प्रबद्र्धकहरुको छ । निजी उर्जा उत्पादकहरुको संस्था इप्पानले आफ्नो १९ औं र २० औं साधारणसभाको अवसरमा प्रधानमन्त्रीसमक्ष फर्पिङ जलविद्युत केन्द्रलाई संग्राहालय बनाउन र त्यसको व्यवस्थापनको जिम्मा दिन माग गरेको इप्पान कार्य समिति सदस्य प्रकाश दुलालले बताए ।
नेपालको सबैभन्दा पुरानो र एसियाको दोस्रो पुरोनो फर्पिङ जलविद्युत आयोजनालाई संग्राहालयको रुपमा विकास गर्ने हो भने उक्त स्थानलाई जलविद्युत् अध्ययन– अनुसन्धान केन्द्रको रुपमा विकास गर्न सकिने इप्पानको धारणा छ । ऐतिहासिक धरोहरको रुपमा रहेको उक्त जलविद्युत आयोजनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व दिएर पर्यटन आकर्षण गर्न सकिने दुलाल बताउँछन् । फर्पिङ जलविद्युत् आयोजनाको महत्व दर्शाउन र विद्युतीय सवारी साधनको उपयोग बढाउन इप्पानले काठमाडौं देखि फर्पिङसम्म हाईड्रो एक्सपोको उद्घाटनको दिन विहान ७ बजे भृकुटी मण्डपबाट विद्युतीय सवारी साधनको ¥याली आयोजना गरेको दुलालले जानकारी दिए ।
‘अहिले हामीले जलविद्युतलाई पर्यटनसँग जोडेर पर्यटको बसाइ लम्बाउन सके स्थानीयको रोजगारी सिर्जना, आय वृद्धि, आर्थिक गरेर स्थानी विकासका क्षेत्रमा टेवा पुग्ने’ उनि बताउँछन् । हाम्रो जलविद्युतलाई ब्राण्डिङ गर्न सके यसले पर्यटन आकर्षित गर्नसक्ने प्रशस्त सम्भावना रहेको दुलालको भनाइ छ ।
फर्पिङ जलविद्युत आयोजना स्थापना भएको १ सय ११ वर्ष भन्दा बढि भइसकेको छ । १ सय वर्ष भन्दा बढिका संरचनाहरु पुरात्व अन्तरगत पर्दछन् र यसले ऐतिहासिक महत्व राख्ने गर्छन तर, फर्पिङ जलविद्युत आयोजना पुरात्वभित्र परेपनि यसको संरक्षण र प्रबद्र्धनमा पुरातत्व विभागले काम नगरेको महानिर्देशक दामोदर गौतम बताउँछन् । स्थानीय सरकारले यसमा चासो दिनुपर्ने उनको तर्क छ ।
पुरा विश्व नै हरित उर्जाको प्रबद्र्धन गर्नेतर्फ अग्रसर भइरहेको समयमा नेपालले पनि हरित उर्जालाई प्रबद्र्धन गर्ने भनेर भनिसकेको छ । जलविद्यतु नितान्त हरित उर्जा भएको र यसले वातावरण रक्षासँगै पर्यटन प्रबद्र्धनको काम पनि गर्ने विज्ञहरुको भनाइ छ । नेपालमा निर्माण सम्पन्न भएका र निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई पर्यटनसँग जोडेर आर्थिक विकास गर्नुपर्ने पर्यटनविद् दिपकराज जोशीको भनाइ छ ।
सन् २०२१ अक्टोवर ३१ देखि नोभेम्बर १२ सम्म संयुक्त राष्ट्र संघिय जलवायु परिवर्तन सम्बन्धी २६ औं सम्मेलन (कोप २६) मा नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाबाट भएको सम्बोधनमा जलवायु परिवर्तन सम्वन्धी संकटले गर्दा नेपाल लगायत अल्पविकसीत राष्ट्रहरुले भोगेका कठिनाई र नेपालको स्वच्छ हरित क्रान्तिलाई जलविद्युत् उर्जा मार्फत् प्रवर्धन गर्ने र स्वच्छ उर्जा मार्फत् कार्बन उत्सर्जन कटौती गर्न सन् २०३५ सम्म कार्बन प्रदुशणयुक्त स्वच्छ उर्जालाई शत प्रतिशत बनाउने लक्ष्य र २०५० सम्म कार्बन उत्सर्जनलाई शुन्यमा झार्ने लक्ष राखिएबाट पनि विश्वको ध्यान हरित उर्जातर्फ आर्कसित भैरहेको अवस्थामा नेपालका जलविद्युत् केन्द्रहरु हरित उर्जाका विषयमा अध्ययन अनुसन्धान गर्नेहरुका लागि आकर्षणका केन्द्र बन्न सक्ने दुलालको भनाई रहेको छ ।
नदि प्रवाहमा आधारित भन्दा पनि जलाशययुक्त र अर्धजलाशय आयोजनाहरुलाई टुरिजम प्रोडक्टको रुपमा विकास गर्न सकिने जोशि बताउँछन् । कुलेखानी जलविद्युत आयोजनामा इन्द्रसरोवर परिचित भएपनि व्यववस्थित नहुँदा पर्यटन प्रबद्र्धनमा टेवा पुु¥याउन सकिरहेको छैन । जलविद्युतसँगै पर्यटनको नयाँ गन्तव्य पनि विकास हुने भएकोले यसलाई ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।
कालीगण्डकी, माथिल्लो तामाकोशी लगायतका आयोजनामा पनि जलविद्युत पर्यटनको सम्भावना छ तर यसका लागि सरकारले उचित पहल भने गरेको छैन । राज्यमा कसैले पनि जलविद्युत र पर्यटनलाई जोड्नुपर्छ भनेर नहेरेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी बताउँछन् । सरकारले यो सम्बन्धमा नीतिगत व्यवस्था नगरेपनि यसको प्रचुर सम्भावना भएको रेग्मीको भनाइ छ ।
‘आन्तरिक वा बाह्य पर्यटक नेपालको जुनसुकै क्षेत्रमा जाँदा यदि त्यस क्षेत्रमा जलविद्युत छ भने विजुली कसरी उत्पादन हुन्छ, त्यसको इन्टेक कसरी बन्छ । त्यसले वातावरण प्रभाव कति पार्छ भन्ने बुझाएर यसलाई एउटा प्रोडक्टको रुपमा अघि बढाउन सकिन्छ’, रेग्मी बताउँछन् । २ वर्षअघि नै बोर्डले जलविद्युत पर्यटनलाई अघि बढाउने भनेको भएपनि कोभिडका कारण अघि बढ्न नसकेको उनको भनाई छ ।
नदी बेसिनको अधिकतम उपयोग गर्न जलविद्युत विकास गर्ने र यसलाई पर्यटन प्रवद्र्धनसँग जोड्नुपर्ने उनको धारणा रहेको छ । नेपाल आउने पर्यटकलाई काठमाडौंमा मात्र केन्द्रित नगरी भ्रमण अवधि लम्ब्याउनका लागि पनि यसले मद्दत गर्ने उनले बताए । सरकारी, गैरसरकारी तथा सरोकारवाला निकायसँग सहकार्य तथा परामर्श गरी पर्यटन र जलविद्युत विकासको साझा अवधारणा पनि तयार गर्न सकिने उनले बताए । जलविद्युत विकासबाट पनि हिमाल र पहाडका आकर्षक ठाउँमा पर्यटक पुर्याउन सकिने उनको भनाइ छ । यसका लागि स्पष्ट दृष्टिकोण र नीति आवश्यक पर्ने बताइएको छ ।
भौगोलिक बातावरण, उपयुक्त हावापानी र भौगोलिक विविधता कारण प्राकृतिका सौन्दर्यले भरिपूर्ण नेपाल एक उत्कृष्ट पर्यटकीय गन्तव्य मुलुकका रूपमा चिनिन्छ । पानी, पर्यटन र जनशक्ति नेपालको आर्थिक भविष्यका आधार मानिन्छन् । यसको अत्याधिक उपयोगमार्फत नेपालले आर्थिक उपार्जन गर्न सक्ने प्रचुर सम्भावना छ ।
प्रस्तावित जलविद्युत् आयोजना निर्माण र प्राकृतिक सौन्दर्य अवलोकन गर्न पर्यटक आउँदा मात्रै पनि यसबाट प्राप्त हुने रोयल्टीको लाभ लिन सकिन्छ । जलविद्युत र पर्यटनलाई एकसाथ अघि बढाउने सम्भावना हुँदाहुँदै पनि प्राधिकरणको प्राथमिकतामा यो नपर्ने तर्क नेपाल विद्युन प्राधिकरणका नायब कार्यकारी निर्देशक मनोज सिलवाल गर्छन । ‘यसो भन्दै गर्दा यहि कसैले आकर्षक प्रस्तावना ल्याए काम गर्न सकिन्छ तर सुरक्षा लगायत अन्य पाटोमा भने ध्यान दिएको हुनुपर्छ,’ उनि भन्छन् । प्राधिकरणले पुराना र ऐतिहासिक महत्व बोकेका आयोजनाहरुको सम्बद्र्धन र प्रबद्र्धन भने काम गर्दै आएको जानकारी सिलवालले दिए । फर्पिङ आयोजनाका हरेक पाटपूर्जालाई जीवित राख्ने काम प्राधिकरणले गरेको उनले बताए । अब यो पुरातात्विक महत्वको आयोजनालाई संग्राहालयको रुपमा विकास गर्ने योजना प्राधिकरणको पनि रहेको काम अघि बढेको उनले जानकारी दिए ।
निर्माणका लागि चर्चामा रहेका बुढीगण्डकी, पश्चिमसेती, सुनकोशी तेश्रो, तमोर जलासय लगायतका अन्य जलाशययुक्त आयोजनाहरुलाई भने बहुउद्देश्यीय बनाएर पर्यटन प्रवद्र्धन गर्न सकिने अवस्था भने छ । उर्जा मन्त्रालयले कानुनी रुपमा नै जलविद्युत र पर्यटन विकासलाई व्यवस्था नगरेको भएपनि बहुउद्देश्य आयोजनाहरुलाई पर्यटनको पाटोबाट पनि अघि बढाउने योजना रहेको मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल बताउँछन् । ‘हामीले बुुढीगण्डकी आयोजनाबाट विद्युत उत्पादनसँगै पर्यटन पूर्वाधार विकासको पनि योजना बनाएका छौं,’ भन्दै भेटवालले सबै ठूला आयोजनाहरुमा पर्यटन पूर्वाधारको काम अघि बढाइने बताए । ‘पर्यटन पूर्वाधार भनेको होटल हुनसक्छन्, अन्य साहसिक पर्यटनका पूर्वधार जस्तै–बन्जि जम्पिङ, जिपलाइन लगायत साथै बोटिङहरुको व्यवस्था गर्दा पर्यटनको आकर्षण र अवसर बढ्छ,’ भेटवालको भनाइ छ ।
कुनै मन्त्रालय विशेष भन्दा पनि वृहत अवधारणामा आर्थिक विकासलाई केन्द्रमा राखेर हेर्दा सबै मन्त्रालयको दायित्वभित्र जलविद्युत र पर्यटन पर्न सक्ने भेटवालको तर्क छ । ‘उर्जाले जलविद्युत मात्र हेर्ने, पर्यटन मन्त्रालयले पर्यटन मात्र हेर्ने मेरो काम भन्न भएन । सम्भावित क्षेत्रहरुलाई पनि समेटेर समन्वय गर्न आवश्यक छ,’ उनि बताउँछन् । उर्जा मन्त्रालयले जलविद्युत आयोजनाहरुबाट उर्जाको विकास मात्रै नभइ पर्यटन प्रबद्र्धनको आधार तयार गर्नेतर्फ उन्मुख भएको भेटवालले स्पष्ट पारे ।