ई–आर्थिक, काठमाडौं । धनुषामा पाँच जना चढेको मोटरसाइकल दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा परेर चारजना किशोरको मृत्यु भएको छ । सोमबार साँझ करिब ८ बजे धनुषाको सवैला नगरपालिका वडा नं. १२ रघुनाथपुरको नहरचौकदेखि बरकुर्वाको बीच सडकखण्डमा मोटरसाइकल दुर्घटनाग्रस्त भएको थियो । त्यस्तै उक्त दुर्घटनामा परी घाईते एकजनाको अवस्था गम्भीर रहेको छ ।
मोटरसाइकल दुर्घटनामा परेर सबैला २ का १२ वर्षीय लक्ष्मी यादव, १५ वर्षीय राहुल यादव, १४ वर्षीय सुमित यादव र १२ वर्षीय बौका यादवको ज्यान गएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
सोही दुर्घटनामा परेका १९ वर्षीय सुरेन्द्र यादव भने गम्भीर घाइते भएका थिए । उनको उपचार भइरहेको छ ।
दुर्घटनामा परेर पाँचैजना गम्भीर घाइते भएकोमा उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएकोमा चारजना किशोरलाई चिकित्सकले मृत घोषणा गरका थिए । सोही अस्पतालमा एकजनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना कसरी भयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् । क्षमताभन्दा बढी पाँचजना सवार गर्दा र अनियन्त्रित सवारी चलाउँदा उक्त दुर्घटना भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।