ई–आर्थिक, काठमाडौं । चिनियाँ राष्ट्रपतिका विशेषदुतका रुपमा विदेशमन्त्री वाङ यी आज शुक्रबार नेपाल आउँदै छन्। उनी तीनदिनको औपचारिक भ्रमणका लागि काठमाडौँ आउन लागेका हुन् ।
नेपालमा एमसीसी अनुमोदन भएपछि विशिष्ट चिनियाँको नेपालमा पहिलोपटक आगमन हुन लागेको हो । वाङको भ्रमण अमेरिकी सहयोग परियोजना एमसिसी सदनबाट अनुमोदन भएपछिको परिवेशमा हुन लागेकाले पनि अर्थपूर्ण ठानिएको हो ।
उनी हाल दक्षिण एसियाली देशको भ्रमणमा छन् । पाकिस्तान तथा अफगानिस्तानको भ्रमण गरेका वाङ भारत हुँदै नेपाल आउन लागेका हुन् ।
परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा वाङको भ्रमण हुन लागेको हो । वाङको नेपाल बसाइको क्रममा दुई देशबीच भएका पुराना सम्झौता कार्यान्वयनका लागि सहमति गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालमा चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजनाहरु कार्यान्वयनमा आउन नसकेको अवस्थामा हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
वाङले नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितसँग भेटवार्ता गर्ने छन् ।
चिनियाँमन्त्री वाङ दिउँसो साढे तीन बजे नयाँदिल्लीबाट काठमाडौँ आइपुग्ने तयारी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् ।