ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रबीच सहकार्यको वातावरण बन्ने हो भने यसले छोटो समयमै राम्रो परिणाम दिन सक्ने बताएका छन्।
पर्साको पोखरिया नगरपालिकामा वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा स्तरोन्नति गरिएको शल्यचिकित्सा कक्षको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले उक्त कुरा बताएका हुन्।
‘राज्यले निजी क्षेत्रलाई सहजीकरणमात्र गर्ने हो भने निजी क्षेत्रले छोटो समयमा राम्रो परिणाम दिन सक्छ’, उनले भने, ‘राज्यले निजी क्षेत्रसँग सहकार्य गर्दा राम्रो रिजल्ट आउँछ भन्ने कुरा आज समुद्घाटन गरिएको यस अस्पतालले पनि स्पष्ट पार्छ।’
निजी क्षेत्रसँग सहकार्य गरेर अस्पतालको स्तरोन्नति गर्न सफल भएको र यसले राज्य र निजी क्षेत्रबीचको राम्रो सहकार्यको सुरुवातको संकेत गरेको वरिष्ठ उपाध्यक्ष ढकालको भनाइ छ।
‘निजी क्षेत्रले पूर्वाधार निर्माण तथा रोजगारी सृजना गर्ने जुनसुकै काम पनि निजी क्षेत्रले सहज र छिटो गर्न सक्छ। यसलाई राज्यले सहजीकरणमात्र गरे पुग्छ’, उनले भने।
निजी क्षेत्रले आफ्नो फाइदाको लागिमात्र काम नगर्ने र आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पनि निभाउँदै आएको उनले बताए।
कोभिडको समयमा नेपालको निजी क्षेत्रले खेलेको भूमिकाले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व थप स्पष्ट पारेको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा राज्यको होस्टेमा हैसे गर्दै निजी क्षेत्रले आइसोलेसन सेन्टर निर्माण, अक्सिजन प्लान्ट हस्तान्तरणदेखि आफ्ना हस्पिटल, होटल, स्कूल, कलेज र उद्योग कलकारखाना तत्काल सरकारलाई सुम्पेको स्मरण गराए।