ई–आर्थिक, काठमाडौं । रुसी फौजले लगभग सबै दिशाबाट हमला गरिरहेको युक्रेनी सेनाले जनाएको छ । लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतवार ‘कठिन समय’ भएको फेजबुक पेजमा लेखेका छन् । उनका अनुसार रुसी फौजले ‘लगभग सबै दिशाबाट हमला जारी राखेको’ छ ।
रुसी सेनाले आक्रमण गरे पनि खार्किभ युक्रेनी फौजकै नियन्त्रणमा रहेको त्यहाँका गभर्नरले बताएका छन् ।
युरोपेली सङ्घको प्रतिबन्ध
बिहीवार रुसले अतिक्रमण गरेयता उसका ४,३०० सुरक्षाकर्मी मारिएको युक्रेनले दाबी गरेको छ । यद्यपि यसको पुष्टि हुन सकेको छैन । युरोपेली सङ्घ ईयूले रुसी अतिक्रमणसँगै युक्रेनलाई अस्त्रहरू पठाउने अभूतपूर्ण कदम चालिरहेको छ । ईयूले रुसी विमानहरूलाई आफ्नो हवाई क्षेत्र भएर उड्नमा र रुसी सरकारी सञ्चारमाध्यममाथि पनि प्रतिबन्ध लगाउँदैछ ।
ईयूका सदस्य राष्ट्रहरूले युक्रेनी शरणार्थीहरूलाई लिने क्रममा नियमित नियमहरूलाई पन्छाउने भएका छन् ।
युक्रेनमा रुसी अतिक्रमणलाई लिएर ईयूले आवश्यक कदमहरू चालिरहँदा सदस्य देशका आन्तरिक मामिला मन्त्रीहरूले सो सम्बन्धी प्रस्तावमा सहमति जनाएका हुन् ।
रुसले बिहीवार सैन्य कारबाही थालेयता युक्रेनबाट तीन लाख नागरिक भागेर आएको ईयूले जनाएको छ । त्यो सङ्ख्या बिस्तारै दशौँ लाख पुग्नसक्ने ईयूको अनुमान रहेको छ ।
अमेरिकी निन्दा
यसैबीच, पारमाणिक बललाई उच्च सतर्क अवस्थामा राख्ने रुसी कदमको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ । रुसी राष्ट्रपतिले गरेको घोषणा ‘अनावश्यक’ भएको भन्दै अमेरिकी अधिकारीहरूले त्यो ‘उक्सासहटपूर्ण कदमले खतरनाक गल्तीहरू निम्त्याउन सक्ने’ बताएका छन् ।
रुसी कदमपछि आणविक अस्त्रसम्बन्धी आफ्नो नीतिमा परिवर्तन आएको बारेमा बोल्न भने अमेरिकाले अस्वीकार गरेको छ ।
उत्तर एट्लान्टिक सन्धि सङ्गठनका उच्च अधिकारीहरूको रुसविरोधी आक्रामक वक्तव्यपछि पछिल्लो कदम चाल्न आफू बाध्य भएको पुटिनले दाबी गरेको समाचार बीबीसीले जनाएको छ ।