ई–आर्थिक, काठमाडौं । क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गराएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अर्को पनि आक्रमक निर्णय गरेका छन् ।
मन्त्रीस्तरीय निर्णयबाट उनले मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गराएका हुन् ।
२० भदौ ०६७ मा मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल)को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो ।
तर, आर्थिक वर्ष २०७६/७७ सम्मको बक्यौता, आव २०७७/७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आवको रोयल्टी गरी ३८ करोड १० लाख ४५ हजार ६६४ रुपैयाँ नबुझाएपछि होटल बन्द हुनुका साथै मिनी क्यासिनोको लाइसेन्स रद्द भएको हो । ड्रिमल्याण्ड होटलले पर्यटन विभागको वर्गीकरणमै परेको छैन ।
ड्रिमल्याण्ड होटल र आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ । लुम्बिनी सरकार प्रदेशलाई पत्र लेख्दै उक्त होटल मन्त्रालय वा निकाय अन्तर्गत दर्ता भएको भए दर्ता खारेज गर्न भनिएको छ । ह्याप्पी आवरले महेन्द्रनगर, भैरहवा र काकडभिट्टामा पनि क्यासिनो सञ्चालन गर्दै आएको छ ।