२०८३ साउन ९ शनिबार

शुक्रपथ बहुउद्देश्यीय सहकारीको ११औं वार्षिक साधारणसभा सम्पन्न, शेयरपुँजी २० करोड १८ लाख नाघ्यो

ई आर्थिक    बुधबार, पौस १४ २०७८
5.8K
Shares
शुक्रपथ बहुउद्देश्यीय सहकारीको ११औं वार्षिक साधारणसभा सम्पन्न, शेयरपुँजी २० करोड १८ लाख नाघ्यो

ई–आर्थिक, काठमाडौं । काठमाडौंको प्युखामा मूख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री बसन्त मानन्धरको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष नरेन्द्र विष्टको अध्यक्षतामा भएकोमा सभा सम्पन्न भएको हो ।

सभाको उद्घाटन गर्दै मन्त्री मानन्धरले कृषिमा यान्त्रिकरण भित्र्याएर उद्यमशीलता बढाउनुपर्नेमा बताए । उनले कृषि उत्पादन बढाउन प्रदेश सरकारले सिँचाइ व्यवस्था गर्न लागिएको जानकारी दिए । सहकारीमार्फत रोजगारी सिर्जना र उत्पादन बढाउन जोड दिनुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाईले सहकारीलाई उत्पादनमा जान ४७ वटा ऐन बाधक रहेको बताए । सहकारीले विद्युत, उत्पादन गर्न, स्कुल सञ्चालन गर्न चाहन्छ’ उनले भने,‘तर ऐनले सहकारी नचिन्दा काम गर्न गाह्रो छ । सहकारीमा लागेर सदस्यको आर्थिक उन्नती कति भयो भन्ने विषय मुख्य रहेको उनले बताए ।

सिभिल सहकारी जोगाउन प्रयास गरिएको जानकारी दिदैँ चौलागाईले त्यसको नेतृत्वसँग बारम्बार छलफल गर्दा पनि गम्भीर नभएको बताए । ‘निदाएको अभिनय गर्नेलाई उठाउन सकिदैन’ उनले भने । संस्थाबारे सदस्यले बारम्बार जानकारी लिने गरेमा सहकारी समस्या नपर्ने उनले बताए ।

काठमाडौं महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शोभा सापकोटाले २ वटा सहकारीको बदमासीले सिंगो सहकारी बदनामी हुन नहुने बताए । ‘पलायन भइरहेका दक्ष जनशक्तिलार्ई सहकारीले रोक्नुपर्छ’ उनले भनिन् । कोरोनाले अर्थतन्त्र डामाडोल पारेको अवस्थामा सहकारीमा पनि प्रभाव परेको भन्दै वडा अध्यक्ष सापकोटाले सहकारी पनि विस्तारै तंग्रिन लागेको बताइन् ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङले सहकारीले रोजगारी र उद्यमशीलतामा जोड दिनुपर्ने बताए । केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका महासचिव माधव तिमल्सिनाले बहुउद्देश्यीय सहकारीले बहुआयामिक परियोजना सञ्चालन गर्नुपर्ने बताए । सहकारी ऐनमा कुन पुँजीबाट ७० र ३० को कारोबार गर्ने भन्ने स्पष्ट व्यवस्था नभएकाले सहकारीले काम गर्न नसकेको उनले बताए ।

संस्था अध्यक्ष एवं कार्यक्रमका सभापति नरेन्द्र विष्टले सहकारी अभियानले छरिएर रहेको पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको धारणा व्यक्त गरे । शुक्रपथ सहकारीले कोरोना संक्रमणको महामारीमा पनि आफ्ना बचतकर्ताका लागि समर्पित भएर गरेको काम फेहरिस्त सभामा प्रस्तुत गरेका थिए । संस्थाले ३६५ दिन नै कार्यालय सञ्चालन गरी सदस्यहरूलाइ सेवा प्रदान गर्दै अएको र सेवालाइ थप सहज र सरल बनाउन मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कारोबारको स्टेटमेन्ट हेर्न सकिने सुविधाका साथै कनेक्ट आइपीएस, फोन पे र क्यूआर पेमेन्ट समेत सञ्चालनमा रहेको बताए ।

सभामा सहकारीका सचिव जीवन राज ओझाले छरिएर रहेको पुँजीलाई एकत्रित गरेर सहकारीका सदस्यलाई उत्पादनशील र व्यावसायिक बनाउन सहयोग गर्दै आएको दाबी गरे ।

त्यस्तै, सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेस गर्दै कोषाध्यक्ष दीपेन्द्र कुमार श्रेष्ठले आ. व. ०७७/७८ को आर्थिक प्रतिवेदन र ०७८/७९ को कार्ययोजनासमेत प्रस्तुत गरेका थिए । संस्थाको असारमसान्त सम्म शेयरपुँजी २० करोड १८ लाख, जगेडा तथा अन्य कोष गरी ७ करोड, १ अर्व ४१ करोड बचत संकलन गरी १ अर्व ५९ करोड ऋण लगानी गरेको छ । हालसम्म सहकारीमा १२ हजार सदस्य रहेका छन् ।

कार्यक्रमममा वार्षिक बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्लेले प्रविधिको प्रयोगलाइ जोड दिँदै काजग र नगद रहित कारोबारलाइ बृद्धि गर्ने जनाए । सम्भावित स्थानमा सदस्यता वृद्धिको कार्यक्रम अघि बढाउने उल्लेख गरे ।

सभामा संस्थाका उत्कृष्ट सेयर सदस्य सम्मान, जेष्ठ सदस्य सम्मान,उत्कृष्ट बचत सदस्य सम्मान, उत्कृष्ट कर्जा सदस्य सम्मान गरिएको थियो ।

‘आर्थिक क्रान्तिका लागि सहकारी, हटाउँ गरिबी र बेरोजगारी’ भन्ने मूल नाराका साथ सहकारी अभियान संचालन गरिरहेको शुक्रपथ सहकारीले बाग्मती प्रदेशलाई आफ्नो कार्यक्षेत्र बनाई काम गर्दै आएको छ । उपत्यका भित्र ८ र उपत्यकाबाहिर नुवाकोट र चितवनमा समेत गरि १० स्थानमा संस्थाका सेवाकेन्द्र सञ्चाललनमा रहेका छन् ।

संस्थाले मूख्य कार्यालयका अतिरिक्त ती सेवा केन्द्रहरुबाट सदस्यहरूलाई आकर्षक, भरपर्दो, सरल र विश्वनीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij