ई–आर्थिक, मोरङ : विराटनगरमा केन्द्रीय कार्यालय रहेको सप्तकोसी डेभलपमेन्ट बैंकमा कर्मचारीलगायतको मिलेमतोमा १६ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । बैंकको कर्पोरेट कार्यालयमा उक्त रकम हिनामिना भएको पाइएको हो । हिनामिनामा संलग्न भएको आरोपमा बैंकको कर्पोरेट कार्यालयका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिई यसबारे अनुसन्धान थालेको छ ।
बैंकमा भएको हिनामिनाको बारेमा बैंककै एक कर्मचारीले गोप्य रूपमा नेपाल राष्ट्र बैंकमा उजुरी दिएपछि घट्नाको रहस्य खुलेको छ ।
राष्ट्र बैंकले उक्त आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेपछि मात्रै आफूहरुलाई हिनामिनाको बारेमा जानकारी भएको बैंकका सञ्चालकहरुले बताएका छन् । नेपाल राष्ट्र बैंकले पत्राचार गरेपछि तत्काल आन्तरिक छानबिन गर्दा जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराईले आर्थिक हिनामिनाको भेटिएको बैंक स्रोतले जानकारी दिएको छ । त्यसपछि राष्ट्र बैंक र जिल्ला प्रहरी मोरङमा बैंकले उजुरी दिएको थियो ।
अहिले प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्र बैंकले छानबिन गरिरहेको छ । छानबिनपछि मात्रै के कति रकम कसरी हिनामिना भएको हो, वास्तविकता बाहिर आउँने प्रहरीले जनाएको छ ।
बैंकले उजुरी दिएपछि जिल्ला प्रहरी मोरङले भट्टराईलाई मंसिर १९ मा नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ । बैंकमा ठगी भएको उजुरी आएपछि भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र अनुसन्धानपछि बैंकिङ कसुर मुद्दा दर्ता गरेर कारबाही अघि बढाउने तयारी जिल्ला प्रहरी कार्यालय मोरङले गरेको छ ।
यस विषयमा राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभाग र सीआईबीले पनि आर्थिक हिनामिनाको अनुसन्धान गरिरहेको छ । विभागको टोलीले बुधबार बैंकको सुपरिवेक्षण गर्नुका साथै अनुसन्धानका लागि आवश्यक जानकारी लिएको हो ।
पक्राउ परेका भट्टराई २०७१ सालदेखि बैंकको रेमिट्यान्सतर्फ जीएसडी प्रमुख रहेको थिए । भट्टराईको एकल प्रयासमा यति ठूलो रकम हिनामिना हुन नसक्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । पक्राउ परेका भट्टराई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीका फुपूका छोरा भएको बैंक स्रोतले जानकारी दिएको छ । यसरी हेर्दा यो घटनामा सीइओको समेत संलग्नता छ कि भन्ने आशंका प्रहरीले गरेको छ । यद्यपी उक्त कुरा पुष्टि हुन सकेको छैन ।
बैंकमा आर्थिक अनियमितता भएको विषय बाहिरिएपछि सञ्चालक समितिले बैंकका तत्कालीन अध्यक्ष तारानाथ निरौलालाई हटाएर मंसिर १ देखि स्वतन्त्र सञ्चालक बराललाई अध्यक्षको जिम्मेवारी दिएको छ । रकम हिनामिनामा भट्टराईसहित बैंकका अध्यक्ष निरौला र सीईओ सुवेदीको समेत संलग्नता हुन सक्ने प्रहरीको आशंका रहेको छ ।
राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतप्राप्त बैंकको केन्द्रीय कार्यालय धनकुटामा छ । बैंकको प्रदेश १ भरिमा मात्रै ३६ वटा शाखा कार्यालय रहेको छ ।
बैंकमा ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप रहेको छ । बैंकका निक्षेपकर्ता तथा लगानीकर्तालाई हतोत्साहि नहुन बैंक व्यवस्थापनले भनेको छ । आर्थिक हिनामिनाले पछि बैंकको शाख गिर्नुको साथै तत्काल नाफा घट्ने निश्चित देखिएको छ ।