२०८३ साउन ९ शनिबार

इन्डोनेशियामा भीषण ज्वालामुखी, कम्तीमा १३ को मृत्यु

ई आर्थिक    आइतबार, मंसिर १९ २०७८
4.1K
Shares
इन्डोनेशियामा भीषण ज्वालामुखी, कम्तीमा १३ को मृत्यु

ई–आर्थिक, काठमाडौं । इन्डोनेशियाको जाभा टापुमा शनिवार ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको र दर्जनौँ अरू घाइते भएको आपत्कालीन सेवामा जुटेका अधिकारीहरूले बताएका छन् ।

माउन्ट सेमेरुबाट निस्किएको खरानीको बादलबाट बच्न स्थानीय बासिन्दाहरू भागिरहेका दृश्यहरू सार्वजनिक भएका छन् ।

तस्बिरहरूमा देखिए अनुसार एउटा गाउँ पुरै ज्वालामुखीको खरानीले पुरिएको छ । गाउँका बासिन्दाहरूले जनाए अनुसार खरानीको बाक्लो बादलले सूर्यको प्रकाश छेकिदिँदा उनीहरू बसेको ठाउँमा अन्धकार छाएको थियो ।

अधिकारीहरूका अनुसार ५७ जना घाइते भएका छन् । कैयौँलाई लाभाले नराम्ररी पोलेको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ज्वालामुखी विस्फोट हुँदा लुमाजाङ जिल्लाका कम्तीमा ११ गाउँ खरानीले छोपिएका छन् । त्यसैले कैयौँ मानिसहरू मस्जिद र अस्थायी आश्रय स्थल पुगेका थिए । उद्धार कार्य बाक्लो धुवाँ, बिजुली गएको र आँधीका कारण प्रभावित भएको छ ।

एक स्थानीय अधिकारी थोरिकल हकले रोयटर्सलाई बताए अनुसार मालङ सहर नजिकैको एउटा सडक र पुल पनि बन्द भएको छ । उनले भने, ‘यो विस्फोट हुने बित्तिकै यति धेरै गतिविधि भयो ।’

खरानी लाभा र पानीका कारण बाक्लो हिलो जम्मा भएको र त्यसले उद्धार कार्य पनि प्रभावित बनाएको अधिकारीहरूले बताएका छन् । स्थानीय समय अनुसार साढे दुई बजे दिउसो ज्वालामुखी विस्फोट भएको थियो ।

खरानीको धुवाँबाट बनेको बादल १५ हजार मिटर सम्म पुग्न सक्ने भन्दै त्यो उचाइ धेरैजसो विमानको भन्दा माथिको भएकाले सतर्कता अपनाउन भनिएको छ । माउन्ट सेमेरु स्थायी रूपको सक्रिय ज्वालामुखी बन्ने स्थितिमा रहेको र शनिवारको विस्फोटन असाध्यै ठूलो तहको भएको बताइएको छ ।

माउन्ट सेमेरु समुन्द्री सतहभन्दा ३,६७६ मिटर उचाइमा छ र यो इन्डोनेशियाका १३० सक्रिय ज्वालामुखीमध्ये एक हो । त्यस अघि यो डिसेम्बर २०२० मा विस्फोट भएको समाचार विविसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij