काठमाडौं । बैंकहरूमा तरलता अभाव भएपछि हामीले पाउने कर्जाको ब्याजदर नै दोहोरो अंकमा पुगेको छ । हामीले कर्जा लगानी गर्दाको ब्याजदरमा राष्ट्र बैंकले सीमा तोकेकाले समस्या भएको हो ।
बैंकहरुमा तरलता अभावले ब्याजदर वृद्धि भएपछि लघुवित्त संस्थाहरुमा दबाब परेको छ । एकातिर ब्याजदर वृद्धि र अर्कोतर्फ नेपाल राष्ट्र बैंकको निर्धारण गरेको सीमाका कारण संस्थाको सञ्चालन खर्च धान्न नै कठिन हुन थालेको लघुवित्तकर्मीको गुनासो छ ।
“अहिले बैंकहरुमा तरलता अभाव भएपछि हामीले पाउने कर्जाको ब्याजदर नै दोहोरो अंकमा पुगेको छ,” नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले भने, “राष्ट्र बैंकले हामीले कर्जा लगानी गर्दाको ब्याजदरमा सीमा तोकेकाले समस्या भएको हो ।”
शर्माका अनुसार अहिले वाणिज्य बैंकहरुले लघुवित्तहरुलाई दिने कर्जाको ब्याजदर ११ प्रतिशतसम्म पुगेको छ । तर, लघुवित्तले गर्ने लगानीको ब्याजदरमा राष्ट्र बैंकले १५ प्रतिशतको सिमा तोकेको छ । जसका कारण ३-४ प्रतिशत स्प्रेडमा काम गर्न नसकिने अवस्था आएको उनको भनाइ छ । “अहिलेसम्म त जसोतसो धानिरहेका छौं,” शर्माले भने, “यो अवस्था लामो समय जाने हो भने केहि संस्थाहरुलाई अप्ठेरो पर्ने देखिन्छ ।”
ब्याजदरमा सीमा तोक्दा बजारको उतारचढाव हुँदा समस्या हुने भन्दै संघले बैंक तथा वित्तीय संस्थाहरुमा झैं आधार ब्याजदर र स्प्रेडदरको व्यवस्था लागू गर्न माग गर्दै आएको छ । तर राष्ट्र बैंकले भने विपन्न वर्गले उपभोग गर्ने कर्जा सस्तो हुनुपर्ने भन्दै सीमा हटाउन मानेको छैन ।
लघुवित्तहरुले चर्को ब्याज लिएको भन्ने आलोचना भएसँगै राष्ट्र बैंकले २ वर्षअघि नै १८ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने गरी सीमा तोकेको थियो । गत आर्थिक वर्षमा यो सीमालाई घटाएर १५ प्रतिशतमा झारेको छ ।
अहिले लघुवित्त संस्थाहरुले बैंक तथा वित्तीय संस्थाबाट विपन्न वर्गका लागि छुट्याएको कर्जा लिएर लगानी गर्दै आएका छन् । लघुवित्तको कुल लगानीमध्ये ५५ प्रतिशत बैंक तथा वित्तीय संस्थाको कर्जा नै रहेको छ । बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुग्न नसक्ने गरिब सर्वसाधारणलाई बैंकिङ सेवा दिनका लागि नेपालमा लघुवित्त कार्यक्रम अघि सारिएको हो ।
२०७८ असारसम्ममा ४ वटा थोक कर्जा प्रदायक र बाँकी ६६ वटा खुद्रा कर्जा प्रवाह गर्ने गरी ७० वटा संस्था सञ्चालनमा छन् । यी संस्थाहरुले ४ हजार ६२१ शाखाहरुबाट ५१ लाख ९१ हजार सदस्यलाई सेवा पु¥याउँदै आएका छन् । लघुवित्त संस्थाहरुले १ खर्ब ३० अर्ब ४३ करोड निक्षेप संकलन तथा ३ खर्ब ६५ अर्ब ५५ करोड ऋण प्रवाह गरेको समाचार आजको कारोबारले लेखेको छ ।