ई–आर्थिक, काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालका सह–अध्यक्ष अस्मिन राउतले समाज अन्तर्गत स्थापना गर्न लागिएको अक्षय कोषका लागि १ लाख ५ हजार बीउँ पूँजी (सीड मनी) प्रदान गरेका छन् ।
विभिन्न उद्योग र व्यवसायहरु सञ्चालन गर्दै आएका उदयीमान युवा उद्योगी, व्यवसायी तथा समाजसेवी राउतले आफ्नो जन्मदिनको अवसर पारेर समाजका अध्यक्ष ई. भगवान बहादुर राउतलाई चेक हस्तान्तरण गरेका हुन ।
राउत क्षत्री सेवा समाज नेपालको केन्द्रिय कार्यालय आरुवारी काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा सह–अध्यक्ष अस्मिन राउतलाई जन्म दिनको शुभकामना दिंदै अध्यक्ष भगवान राउतले शिक्षा र स्थास्थ्यलगायतको विशुद्ध कल्याणकारी कार्यमा योगदान पु¥याउने उद्देश्यले स्थापना गर्न लागिएको उक्त कोषमा रकम जम्मा गरेर सह–अध्यक्ष अस्मिन राउतले प्रशंसनीय कार्य गरेको बताए । अध्यक्ष राउतले विशुद्ध सामाजिक उद्देश्यका त्यस्ता कार्यहरुमा हृदय खोलेर योगदान गर्ने अस्मिन लगायत जो कोही समेतलाई कुल देवताले भलो गर्ने बताए । कोषमा जम्मा भएको रकमको ब्याजले कल्याणकारी कार्य गर्ने बताउँदै अध्यक्ष राउतले आफ्ना यस्तै विभिन्न अवसरहरुमा कोषलाई सहयोग गर्न देश विदेशमा रहेका बन्धुहरु तथा शुभचिन्तकहरुलाई आव्हान गरे ।

समाजका सह–अध्यक्ष अस्मिन राउतले कल्याणकारी कार्यका लागि स्थापना हुन लागेको समाज अन्तर्गतको उक्त कोषलाई आफ्नो जन्मदिनको अवसर पारेर सीड मनी प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरे । देश विदेशमा घुम्ने शिलशिलामा सामाजिक र कल्याणकारी कार्यका लागि करोडौं रकम योगदान गरेको देखेर आफूपनि सामाजिक र कल्याणकारी कार्यका लागि उत्प्रेरित भएको बताए । उनले जन्मदिन, विवाह, विवाहमहोत्सव जस्ता अवसरहरुमा खर्च कटौती गर्दै कल्याणकारी कार्यको लागि स्थापना हुन लागेको उक्त कोषमा रकम जम्मा गर्न सबै शुभचिन्तक तथा बन्धुहरुलाई अपिल गरे ।
समाजले उक्त कल्याणकारी कोष स्थापना गर्न संयोजकको जिम्मा समेत सह–अध्यक्ष अस्मिन राउतलाई नै दिएको छ । सह–अध्यक्ष राउत संयोजकको समितिले कोषको कानुनी बैधता पुरा गर्न तयारी गर्ने, कोषको संरचनाको खाँका बनाउने र कोषले योगदान पु¥याउने विषय र विद्याहरुलाई समाजको कार्यसमितिमा छलफल गर्न लैजना तयारी गर्नेछ । छलफल पछिको निष्कर्षलाई अन्तिम रुप दिंदै कोष स्थापना गर्ने तयारी समाजको रहेको छ ।

कोषमा उल्लेख्य रकम जम्मा गर्न आगामी दिनमा विभिन्न अवसरहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने सह–अध्यक्ष राउतले जानकारी दिए । ‘बलियो र ठूलो राशीको अक्षय कोष बनाउन आफू प्रतिबद्ध रहेको छु ।’ सह–अध्यक्ष राउतले भने– ‘त्यसका लागि सबैको सहयोग अपेक्षा गर्दछु ।’ उनले कोषको रकम ५० लाख भन्दा बढी पु¥याउन प्रयासरत रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा समाजका अर्का सह–अध्यक्ष हरिकृष्ण राउतले धन्यवाद मन्तव्य दिंदै अन्य दाजुभाईहरुलाई समेत ‘अस्मिन राउत’ जस्तै बन्न अनुरोध गरे ।
कार्यक्रममा समाजका कार्यसमितिका पदाधिकारी, पूर्व पदाधिकारी, समाजको भवन निर्माण गर्न जग्गा उपलब्ध गराउने हरिवहादुर राउत, युवा व्यवसायी दिपक राउतको समेत उपस्थिति रहेको थियो ।