ई–आर्थिक, काठमाडौं । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गतेसम्म सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रूजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक गरिने छ । नतिजा प्रकाशनका क्रममा विद्यार्थीको प्राप्ताङ्कमा त्रुटि नहोस् भनेर नै रुजुको काम भइरहेको बताइएको छ ।
हाल विद्यार्थीको प्राप्ताङ्क नम्बरलाई जीपीएमा परिवर्तन गर्ने काम भइरहेको छ । नतिजा प्रकाशित गर्ने अन्तिम गृहकार्यमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । कार्यालयको सर्भर तथा प्राविधिक क्षेत्रमा समस्या भएन भने २५ गतेसम्म नतिजा सार्वजनिक गरिसक्ने बोर्डले जानकारी दिएको ।
जिल्लास्थित सबै शिक्षा विकास तथा समन्वय एकाइबाट विद्यार्थीको प्राप्ताङ्क प्राप्त भइसकेकाले कुनै कारणले अब रोकिनुपर्ने अवस्था नरहेको बोर्डको भनाई छ । बोर्डले केही विद्यालयका विद्यार्थी परीक्षामा पूरै अनुपस्थित देखिएको, सबै विषयमा ‘ए’ प्लस ल्याएको विद्यार्थी एउटा विषयमा मात्रै अनुपस्थित देखिएका जस्ता विषयमा हाल मसिनो गरी केलाइरहेको छ ।
यसअघि विद्यालयलाई भने असार २० भित्र विद्यार्थीको आन्तरिक मूल्याङ्कन पूरा गरी जिल्लास्थित समन्वय एकाइमा पठाउन समय दिइएको थियो ।
कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले २०७७ सालमा कक्षा १० का विद्यार्थीको एसईईको अन्तिम मूल्याङ्कन गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिने निर्णय गरिएको थियो ।
एसईईका विद्यार्थीको विद्यालयले मूल्याङ्कन गरेको यो दोस्रो पटक हो । यसअघि २०७६ सालका एसईईका विद्यार्थीको मूल्याङ्कन गर्ने जिम्मेवारी पनि विद्यालयलाई दिइएको थियो ।
यसैबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा साउनभित्र सक्ने भएको छ । त्यसका लागि बोर्डले सम्बद्ध विद्यालयहरूलाई निर्देशन दिइसकेको छ । कुल सय पूर्णाङ्कको परीक्षा लिन र साउनभित्र परीक्षा सक्न विद्यालयहरूलाई बोर्डले निर्देशन दिएको हो ।
यी दुबै रिजल्ट र परीक्षा बारे बोर्डले लगभग टुंगो लगाइसकेकाले यसमा देखिएको अन्यौलता अन्त्य हुने भएको छ ।