ई–आर्थिक, काठमाडौं । समयमै रासायनिक मल ल्याउन नसक्ने दुई कम्पनी सरकारको कालोसूचिमा परेका छन् । यसरी सरकारको कालोसूचिमा परेका कम्पनीहरुमा शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनी लिमिटेड रहेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना प्रकाशित गर्दै दुवै कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले कालोसूचीमा राख्न लेखी पठाएको उक्त दुई कम्पनीलाई दुई–दुई वर्षका लागि कालोसुचीमा राखेको हो ।
सस्तोमा ठेक्का पारेका यी कम्पनीले मल आयात नै नगरेपछि कालोसूचीमा राखेको कार्यालयको भनाई छ ।
ती कम्पनीले मल आयात नगर्दा रोपाइँको मुखमै मलको चरम अभाव भएको थियो । त्यसपछि कृषि सामग्रीले ठेक्का रद्द गरी धरौटीसमेत जफत गरेको थियो ।
कालोसूचिमा परेका दुई कम्पनी मध्ये शैलुङले चीन, रसिया, साउदीलगायत मुलुकबाट आयात गर्ने सहमति गरेको थियो । ३० हजार टन युरियाबाहेक शैलुङले तेस्रो ठेक्काअन्तर्गत २५ हजार टन मल आयात गर्ने सम्झैता गरेको थियो । त्यसैगरी अर्को कम्पनी मुक्तिनाथ कृषि कम्पनीले पनि ३२ हजार टन युरिया र २० हजार टन डीएपी मल आयात गर्ने ठेक्का सम्झैता गरेको थियो ।
नेपाली कम्पनीहरूको व्यवस्थापन पक्ष कमजोर हुँदा आयातमा ढिलाइ भएको हुनसक्ने अनुमान कृषि सामग्री कम्पनीले लगाएको छ ।