ई–आर्थिक, कठमाडौं । कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिएको अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री आज काठमाडौं आइपुगेको छ । उक्त सामाग्री बेइजिङमा नेपाललाई हस्तान्तरण गरिएको थियो ।
चीनले दिने अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको फ्लाइट नं. आरए–४२५१ को वाइडबडी जहाज चीनको राजधानी बेइजिङ गएको थियो । सोही जहाजले पहिलो चरणमा १० वटा भेन्टिलेटर मेसिन, ४०० थान अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामाग्री काठमाडौं ल्याइपु¥याइएको हो ।
चीनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा यसअघि नै गरिसकेको थियो ।
चीनले अनुदानस्वरूप दिन लागेको भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्ने भएका छन् ।
स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री आउन लागेको बुझिएको छ ।