२०८३ साउन १२ मंगलबार

नेपाल फर्टिलाइजर इण्डस्ट्रिजले कञ्चनपुरमा रासायनिक मल कारखाना सञ्चालनमा ल्याउने, १३ करोड ७५ लाख लगानी

ई आर्थिक    शुक्रबार, बैशाख १० २०७८
3.7K
Shares
नेपाल फर्टिलाइजर इण्डस्ट्रिजले कञ्चनपुरमा रासायनिक मल कारखाना सञ्चालनमा ल्याउने, १३ करोड ७५ लाख लगानी

ई–आर्थिक, काठमाडौं । नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले कञ्चनपुरमा रासायनिक मल कारखाना सञ्चालनमा ल्याउने भएको छ । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालनमा ल्याउन लागिएको हो । उक्त मल कारखानामा कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको छ । कारखानाले पहिलो चरणमा पोटास, एनटिके र डिएपी मल उत्पादन गर्ने लक्ष्य लिएको छ । पोटास मल असारदेखि उत्पादन गर्ने उक्त मल कारखानाका सञ्चालक उमाकान्त जोशीले बताए । आउँदो मङ्सिर, पुसभित्रै अरु दुई मल उत्पादनको काम अगाडि बढाइने पनि उनले जानकारी दिए ।

मलका लागि आवश्यक पर्ने कच्चा पदार्थका रूपमा बैतडीमा रहेको फस्फोरसको प्रयोग गरिने उनको भनाई छ । कारखानाका लागि आवश्यक पर्ने अन्य रासायनिक पदार्थ, मेसिनलगायत जर्मनीबाट ल्याउने योजना कारखाना सञ्चालकको छ । कारखानाले वार्षिकरूपमा १० हजार मेट्रिक टन मल उत्पादन गर्ने लक्ष्य लिएको छ । कारखानाका लागि भौतिक संरचना निर्माण शुरुआतको काम भइसकेको छ । स्वदेशी कच्चा पदार्थको प्रयोग गरी सञ्चालन गरिने मल कारखाना नेपालकै पहिलो हुने सञ्चालकहरुको दाबी छ ।

कारखाना रहने जग्गाको क्षेत्रफल सात हजार ५०० वर्गफिट रहेको छ । साझेदारी फार्मका रूपमा दुई उद्योगीले कारखाना सञ्चालन गर्दैछन् । उद्योगमा प्रत्यक्षरूपमा ५० भन्दा बढीले रोजगारी पाउनेछन् ।

कृष्णपुर नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले कारखानलाई नगरकै गौरवको योजनाका रूपमा लिएको बताए । बाली लगाउने बेला किसानलाई रासायनिक मल नपाउँदा निकै सास्ती हुँदै आएको उनको भनाई छ । मल कारखानाले गुणस्तरीय मल उत्पादन गरे । सुदूरपश्चिम प्रदेशकै किसानले राहत पाउने उनले बताए । कारखाना सञ्चालनका लागि नगरपालिकाबाट हुनसक्ने सहयोगका लागि सधैँ प्रतिबद्ध रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij