ई–आर्थिक, काठमाडौं । ज्योति लाइफ इन्सोरेन्स कम्पनीको साधारण शेयर शुक्रबार बाँडफाँड हुने भएको छ । शेयर बाँडफाँडका लागि आवश्यक तयारी पुरा भएको कम्पनीको सेयर बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जानकारी दिएको छ ।
फागुन २१ गतेदेखि कम्पनीले ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लािग निष्कासनमा ल्याएको थियो । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गरेको थियो ।
कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर मात्र निष्कासन गरेको एनएमबी क्यापिटलले जानकारी दिएको छ । त्यो मध्यको ५ प्रतिशत कर्मचारी र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरेको कम्पनीको भनाई छ ।
यो इन्सोरेन्सको शेयर आवेदनले रेकर्ड बनाएको थियो । हालसम्म सबैभन्दा बढी शेयर आवेदन उक्त कम्पनीका लागि परेको थियो । १८ लाख ४ हजार६ सय ४८ जनाले आवेदन भरे पनि १० कित्ताका दरले ५ लाख ९४ हजारले मात्र शेयर प्राप्त गर्ने भएका छन् ।
६६ लाख कित्ताको लागि आवदेन खोले पनि ३ करोड ८० लाख ५७ हजार ७ सय १० कित्ता साधारण सेयर खरिदको लागि आवेदन परेको एनएमबी क्यापिटलले जनाएको छ ।
मागको ठूलो गुणा आवेदन परेको हुनाले भाग्यशाली हुने प्रतिक्षाका लागि शुक्रबार नै पर्खनु पर्ने हुन्छ ।