२०८३ साउन ११ सोमबार

रोकिएन ट्रेडमार्क चोरी, चालू वर्षमा ५६ उजुरी

ई आर्थिक    मंगलबार, चैत्र ३ २०७७
6.5K
Shares
रोकिएन ट्रेडमार्क चोरी, चालू वर्षमा ५६ उजुरी

काठमाडौं । चालू आर्थिक वर्षमा उद्यमी–व्यवसायीले आफ्नो सामानलाई चिनाउनका लागि लिने चिन्ह वा संकेत (ट्रेडमार्क) का सम्बन्धमा ५६ वटा उजुरी परेका छन् । उद्योग विभागमा दर्ता भएको एउटा सामग्रीको ट्रेडमार्क हुबहु वा आंशिक रुपमा चोरी गरी पुनः अर्काे सामग्रीमा उस्तै चिन्ह वा संकेत लिएपछि ट्रेडमार्क सम्बन्धमा उजुरी पर्ने गर्छ । ट्रेडमार्क उत्पादित वस्तुमाथि उत्पादकको कानुनी हक र अधिकार हो ।

नेपाल ट्रेडमार्क सम्बन्धी पेरिस सम्झौताको पक्ष राष्ट्र हो । पेरिस सम्झौतामा ट्रेडमार्क सम्बन्धमा कम्तीमा अधिकारप्राप्त निकायले छानविन गर्न ६ महिनाको अवधि पाउने व्यवस्था छ । कम्पनीको ट्रेडमार्क दर्ता भएपछि ६ महिना ‘प्रायोरिटी क्लेम’ को लागि समय दिएको हुन्छ । यो ६ महिनाको अवधिमा कुनै विदेशी कम्पनी आएर उक्त आवेदनको विरूद्ध आफ्नो सोही नामको

कम्पनी ६ महिनाअघि नै विदेशमा दर्ता भइसकेको प्रमाण पेस गरे त्यसको ट्रेडमार्क स्वतः पहिले दर्ता भएको कम्पनीमा जानेछ । तर, दर्ता गरेको ६ महिनापछि पनि ट्रेडमार्क पाइँदैन ।

दर्ता गरेको ६ महिनापछिको तीन महिना विभागले उक्त आवेदन विरूद्ध उजुरीको लागि समय छुट्याएको हुन्छ । सो समयावधीमा कसैले उजुरी दिएमा त्यसको अनुसन्धान हुन्छ । त्यो कानुनी प्रकृयामा जान्छ तर, उजुरी नपरेको खण्डमा भने ९ महिनापछि सम्बन्धित कम्पनी वा संस्थाले ट्रेडमार्क दर्ताको प्रमाण पत्र पाउने व्यवस्था छ । उद्योग विभागका अनुसार हालसम्म ५१ हजार ८ सय ८१ वटा ट्रेडमार्क दर्ता भएका छन् । औसतमा दुईदेखि तीन हजारको हाराहारीमा वार्षिक टे«डमार्क थप हुँदै गएका छन् ।

चालू वर्षमा एक हजार २ सय ट्रेडमार्क दर्ता भएकोमा माघ महिनामा मात्रै २ सय ४३ वटा ट्रेडमार्क दर्ता भएका छन् । उद्योग विभागका महानिर्देशक जिवलाल भुसालका अनुसार प्रतिष्पर्धी बजारमा आफ्ना उत्पादनलाई चिनाउन, बजारीकरण गर्न र नक्कल गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि ट्रेडमार्क आवश्यक छ ।

ट्रेडमार्क आफ्ना उत्पादनहरुको पहिचानका लागि लिइने कानुनी चिन्ह हो । तर चोरी गर्ने, हुवहु संकेत राख्ने उत्पादकविरुद्ध मुद्दा पर्ने गरेको छ । पहिले नै दर्ता भएका ट्रेडमार्क पुनः लिन नपाउने कानुनी व्यवस्था भएपनि केही व्यक्तिले आर्थिक लाभका लागि चोरी गर्ने गर्छन् । उजुरी पर्नासाथ विभागले यसको छिनोफानो लगाउने गरेको छ । नेपालमा ट्रेडमार्क चोरी हुनेमा उत्पादनमूलक उद्योगका सामग्री धेरै छन् ।

उद्यमीले आफ्नो व्यवसायमा वस्तु तथा सामानहरू धेरै किसिमका उत्पादन गर्न सक्छन् । एउटै व्यवसायमा पनि धेरै ब्रान्डहरु हुन सक्छन् । त्यसैले उद्यमीले आफूले उत्पादन गरेको सामानलाई छुट्टै परिचय दिनको लागि ट्रेडमार्क बनाउने गर्छन् । यसले उस्तै किसिमको समान उत्पादन गर्ने अर्को व्यवसायभन्दा फरक देखाउन मद्दत गर्छ । ट्रेडमार्क एक पटक दर्ता गरेपछि बदल्न भने मिल्दैन । पेटेण्ड, डिजाइन, र ट्रेडमार्क ऐन २०२२ का अनुसार ट्रेडमार्क दर्ता गरेपछि प्रत्येक ७ वर्षमा नवीकरण गरिरहनुपर्छ । नवीकरण नगरे अरूले नक्कल गर्ने सम्भावना हुन्छ । चालू वर्षमा परेका उजुरीहरु नवीकरण नगरेको नभई पहिले दर्ता भएका ट्रेडमार्क हुबहु चोरी गर्ने सम्बन्धि हो ।

पछिल्लो समय निर्यात प्रवद्र्धनका लागि कलेक्टिभ ट्रेडमार्क लिने प्रचलन पनि बढेको छ । नेपाली कफी, नेपाली लोक्ता, च्यांग्रा, पस्मिना, नेपाल टी, नेपाली जुत्तालगायतले कलेक्टिभ ट्रेडमार्क पाइसकेको उद्योग विभागले जनाएको समाचार सरस्वती ढकालले आजको कारोबारमा लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij