२०८३ साउन ११ सोमबार

अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

ई आर्थिक    सोमबार, फाल्गुन १७ २०७७
4.1K
Shares
अर्जुनधारामा तीन वर्षमा १०५ पुल निर्माण

झापा : अर्जुनधारा नगरपालिकाले तीन वर्षको अवधिमा साना ठूला गरी १०५ वटा पुल र कल्भर्ट निर्माण गरेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि स–साना खोलाका कारण वल्लो पल्लोगाउँ पुग्नै घण्टौँ हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्दै नगरपालिकाले आन्तरिक बजेटबाट रु १२ लाखदेखि रु ४५ लाखसम्मको बजेटमा पक्की पुल र कल्भर्ट बनाएको हो।

विसं २०७४ साउन २७ गते जनप्रतिनिधि निर्वाचित भएर आएपछि पहिलो प्राथमिकतामा कल्भर्ट र पुल निर्माणको कार्य रहेको देखिन्छ।

“हामी निर्वाचित भएर आउनुअघि नै वर्षाका कारण आएको भीषण बाढीले एकै दिन नगरभित्रका ५३ वटा पुल र कल्भर्ट भत्काएको थियो”, नगरपालिकाका प्रमुख हरि रानाले भने, ‘त्यो साल तिनै कल्भर्ट र पुल बनाउँदै बित्यो, थप केही गर्न सकिएन।”

नगरभित्र साना ठूला दर्जनौँ खोलाखोल्सी भएका कारण एउटा वडाबाट अर्को वडा पुग्न वा आफ्नै वडाको वल्लो गाउँबाट पल्लो गाउँ पुग्न लाग्ने घण्टौँ समयको पुल र कल्भर्टले बचत गरेको उनको भनाइ छ। उनले आर्थिक वर्ष २०७५/७६ मा थप ३० वटा र आव २०७६/७७ मा २२ वटा गरी जम्मा १०५ वटा पक्की पुल र कल्भर्ट निर्माण गरिसकेको बताउनुभयो।

नगरप्रमुख रानाले नगरभित्रका क्षेत्रलाई मात्र जोड्ने नभई छिमेकी जिल्ला इलामको रोङ गाउँपालिकाबाट अर्जुनधारा–१ जोड्ने नेते खोलामा संयुक्त लगानीमा रु ६० लाखको लागतमा २० मिटर र इलामकै माई नगरपालिकासँग मिलेर साढीमुरे खोलामा रु २३ लाखको लागतमा १४ मिटर लम्बाइको पुल निर्माण गरिसकेको बताए।

उनले अझै ११ वटा पुल, कल्भर्ट नगरपालिकाभित्र आवश्यक रहेको बताउँदै चालु आर्थिक वर्षभित्रै बनाइसक्ने योजना सुनाए। पहिलो प्राथमिकता पुल कल्भर्टलाई दिए पनि अब सडक विस्तारको योजनालाई तीव्रता दिइने उनले बताए।

उनले नगरसँग आन्तरिक बजेट पर्याप्त नहुँदा ठूला भनिएका बिरिङ र टाङटिङ खोलामा पक्की बनाउन नसकिएको बताए। ती खोलामा पुल निर्माणका लागि सङ्घीय सरकारसँग बजेट माग गरिरहरहेको बताउँदै उनले भने, ‘यी दुई खोलाले ठूलो समस्या नित्याएको छ।बर्सातका समयमा खुदुनाबारी र मदनपुरवासीलाई नगरपालिका आउन नसक्ने अवस्था सिर्जना हुन्छ। सानो बजेटले हुँदैन तत्काल सङ्घीय सरकारसँग समन्वय गरेर हाम्रै कार्यकालमा पुल बनाउँछौँ ।’ रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij