ई–आर्थिक, काठमाडौं । सेयर बजारमा लगानीकर्ता बढिरहेको बेलामा १२ वटा कम्पनी साधारण सेयर निष्काशन गर्ने पाइपलाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनको अनुमति माग गर्दै निवेदन दिएका कम्पनीहरु मध्ये हाइड्रोपावर कम्पनीहरुको बढी रहेकोे छ ।
निवेदन दिएका १२ वटै कम्पनीको सेयर निष्काशन बारेमा अध्ययन भइरहेको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । यसलाई बोर्डले विभिन्न चरणमा अध्ययन गरिरहेको जनाएको छ ।
निवेदन दिएका मध्ये ३ ओटा कम्पनीलाई बोर्डले प्रारम्भिक समीक्षामा राखेको छ, भने ३ ओटा कम्पनीलाई समीक्षा गरेर टिप्पणी पठाइएको जनाएको छ । बाँकी ६ कम्पनी कम्पनीलाई पनि अध्ययन र समिक्षा भइरहेको बोर्डको भनाई छ ।
साधारण सेयर निष्कासन (आईपीओ) गर्न निवेदन दिएका कम्पनीहरुलाई मापदण्ड पुरा गराएर क्रमशः निष्काशनको अनुमति दिइने बोर्डले जानकारी दिएको छ । आईपीओ निष्काशनको लागि एक वर्षको अडिट रिपोर्टलगायतका मापदण्ड पुरा गर्नुपर्ने हुन्छ ।
बोर्डमा निवेदन दिनेमा अधिकांश जलविद्युत् कम्पनीहरु रहेका छन् । ती मध्ये साहस ऊर्जा लिमिटेडको १ करोड ५ लाख कित्ता, साम्लिङ पावर कम्पनीको १२ लाख ३० हजार कित्ता, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको १२ लाख कित्ता, हिमालयन हाइड्रोपावर लिमिटेडको २२ लाख ५० हजार कित्ता, मैलुङखोला जलविद्युत् कम्पनीको ७ लाख ३६ हजार २८६ कित्ता, मध्येभोटेकोसी जलविद्युत् कम्पनीको १ करोड ५० लाख कित्ता, न्यादी हाइड्रोपावर कम्पनीको ४० लाख ५० हजार कित्ता, सिइबिडी हाइड्रोपावर कम्पनीको २५ लाख १८ हजार २३० कित्ता र बिन्ध्यवासिनी हाइड्रोपावर कम्पनीको २५ लाख कित्ता रहेको छ ।
त्यस्तै डिस मिडिया नेटर्वकले पनि २३ लाख ८५ हजार ९२९ कित्ता, सिबिआइएल क्यापिटलको ३ लाख कित्ता र ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता साधारण सेयर निष्कासनको पर्खाइमा रहेका छन् ।