ई–आर्थिक, काठमाडौं । इजीलिंक रेमिट्यान्स प्रालिले आफ्नो सेवा अष्ट्रेलियाबाट पनि सुरु गरेको छ । अष्ट्रेलियाको सिड्नीमा कार्यालय रहेको मनिद्रान्सफर कम्पनीको सहकार्यमा उक्त सेवा सुरु गरिएको हो ।
सेवा सुरु गर्ने सम्बन्धमा मनिद्रान्सफर कम्पनी र इजीलिंक ट्रान्सफर पिटिवाइ एलटिडीसँग सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता पत्रमा इजीलिंक अष्ट्रेलियाको तर्फबाट एकराज खनाल र केशब आचार्य साथै इजीलिंक नेपालको तर्फबाट डिपि अर्याल र दिपेन्द्र खनालले संयुक्त रुपमा हस्ताक्षर गरे ।
‘रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं’ भन्ने मुल नाराका साथ विगत २३ बर्षदेखि देशमा रेमिट्यान्स भित्र्याउँदै आएको सेवा प्रदायक कम्पनी इजीलिंक रेमिट्यान्स आफ्नो सेवालाइ विस्तार गरेको हो ।
कार्यक्रममा इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल र कम्पनीका ब्राण्ड एम्बासडर रवि लामिछानेले त्यहाँ रहेका नेपालीहरुलाइ बैधानिक तरिकाले आफुले कमाएको रकम नेपाल पठाउन इजीलिंक रेमिट्यान्सको प्रयोग गर्न आग्रह गरेका छन् ।
अहिले अष्ट्रेलियामा १ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान गरिएको छ । हुण्डीको कारोवार धेरै हुने देशको रुपमा अष्ट्रेलियालाइ लिइँदै आइएको छ । इजीलिंकको सेवा सुरु भएसँगै हुण्डीबाट हुने कारोबार कम हुने विश्वास गरिएको छ ।
इजीलिंक रेमिट्यान्सले जापान, कोरिया, साइप्रस, अष्ट्रेलिया लगायत विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याइरहेको छ। अष्ट्रेलियाबाट सेवा आरम्भ गरेपछि अबैधानिक बाटोबाट नेपालमा रकम पठाउने कार्य निरुत्साहित हुने साथै आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका साथै निजी कम्पनीहरुसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तिब्र पार्नुका साथै इजी लिंक रेमिट्यान्सले अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको छ ।
विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब नेपालभरि रहेको इजीलिंक रेमिट्यान्सको ६००० भन्दा बढी सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट सजिलै भुक्तानी लिन र सजिलै बैंक खातामा रकम जम्मा गर्ने सेवा कम्पनीले प्रदान गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले जानकारी दिए ।